१ .ग्लोबल आईएमई बैंकले ऋणीसँग हिसाब मिलाउने नाममा ऋण तिर्न नसकेका ऋणीहरुलाई थप ऋण दिएर किस्ता र ब्याज लिइरहेको पाइएको छ । निष्कृय कर्जा कम देखाउने नाममा बैंकका विभिन्न शाखाहरुले ऋण तिर्नै नसक्ने ऋणीलाई पनि ऋणको थप भार बोकाएर आफ्नो हिसाब मिलाइरहेको पाइएको हो ।
यसअघि ग्लोबल आईएमई बैंकमा रहेको खाताबाट जिउँदो मान्छेलाई मरिसकेको प्रमाणित गरेर खाता नविकरण र चेक साट्ने काम भएको खुलासा भएको थियो । शैल्यशिखर नगरपालिकाले मर्दै नमरेको मान्छेलाई मरिसकेको दाबी गरेर यस्तो काम गरेको खुलासा भएको हो ।
ग्लोबल आईएमई बैंकको मनपरी, ऋण तिर्न नसकेका ऋणीहरुलाई थप ऋण दिएर किस्ता र ब्याज लिँदै !
२ .देशभरका विभिन्न स्थानीय तहले बैंकहरुले गर्ने लिलामीका लागि सिफारिस नै नदिने अघोशीत निर्णय नै गर्न थालेका छन् ।
लिलामीका लागि विभिन्न सिफारिस लिन आउने बैंकका कर्मचारीलाई सिफारिस नदिने मात्र होइन, सकेसम्म भेट्दै नभेट्ने भन्दै स्थानीय तहहरुले आन्तरिक अघोषित निर्णय गर्न थालेका हुन् ।
यता बैंकर्स संघले भने यस्तो कामले बैंकमा निकै समस्या परिरहेको भन्दै सम्बन्धित निकायकी ध्यानाकर्षण गराएका छन् ।
३ . टिकटक बनाउने नाममा ग्राहकका गोप्य विवरण नै सार्वजनिक गर्ने कर्मचारीहरु कार्वाहीमा पर्न थालेका छन्। पछिल्लो केहि समयदेखि मनोरंजन गर्नका लागि टिकटक बनाउने नाममा ग्राहकका गोप्य विवरण नै सार्वजनिक गर्ने केहि बैंकका कर्मचारीहरु कार्वाहीमा पर्न थालेका घटनाहरू बाहिर आउन थालेका हुन् ।
चेक, डिपोजिट रिसिप्ट र ऋणका कागजहरु देखाएर टिकटक बनाउने लगायतका काम गर्ने कर्मचारीहरु कार्वाहीमा परेका छन् ।
ग्राहकको चौतर्फी गुनासोपछि विभिन्न बैंकहरुले त्यस्ता कर्मचारीहरुलाई कार्वाही गरेका हुन् । कतिपय बैंकहरुले अबदेखी त्यस्तो नगर्न उर्दी जारी गरेका छन् भने कतिपय बैंकहरुले कर्मचारीलाई सचेत गराएका छन् ।
४ .ग्लोबल आईएमई बैंककी एक कर्मचारी कामको प्रेसरका कारण बैंकमै ढलेको पाइएको छ। असार मसान्तमा कामको चाप बढेपछी ग्लोबल आईएमई बैंककी एक कर्मचारी प्रेसरका कारण बैंकमै ढलेकी हुन् ।
विहानदेखि बेलुकीसम्म धेरै नै प्रेसरमा काम गर्नुपर्ने, ग्राहकको गाली खानुपर्ने र हाकिमले जस नदिने काम एकैपटक भएका कारण आफू प्रेसरले ढलेको दाबी ती कर्मचारीको छ ।
यति हुँदा पनि असार मसान्तको बाहानामा बिदा नदिएको भन्दै अब आफू बैंकिङ नै छोड्ने योजनामा रहेको बैंकिङ संसार डटकमसँग कुराकानी गर्दै ती कर्मचारीले भनेकी छिन् । तर, आफ्नो नाम भने समाचारमा नखुलाउन उनले आग्रह गरेकी छिन्।
५ .पछिल्लो समय बैंकमा पैसा नै हराउने, हिसाब नमिल्ने लगायतका समस्या देखिन थालेका छन् । क्लोजिङका नाममा हतार हतार काम गर्दा बैंकमा पैसा नै हराउने, हिसाब नमिल्ने लगायतका समस्या देखिन थालेका हुन् ।
हतार हतारमा चापमा काम गर्दा बैंकका काउन्टरहरुमा क्यास शर्टको समस्या ह्वात्तै बढेको हो । यसरी हराएको पैसा टेलरमा बस्ने कर्मचारीले तिर्नुपर्ने हुँदा दिनदिनै पैसा हराउने समस्याका कारण बैंकका तल्ला तहका कर्मचारी तनावमा पर्न थालेका छन् ।
यता ऋण नतिरेका ऋणीहरुले फोन नै ब्लक गर्न थालेपछी बैंकका कर्मचारीले नयाँ सिम लिएर ऋणीलाई फोन गर्न थालेका छन् । असार मसान्तको प्रेसरमा पनि ऋणीले बैंकको ल्यान्डलाइन र बैंकका कर्मचारीको नियमित फोन नम्बर नै ब्लक गर्न थालेपछि बैंकका कर्मचारीले अर्को नम्बर लिएर ऋणीलाई फलोअप गर्न थालेका हुन् ।
६ . नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको असक्षमताका कारण बैंकमा पैसा थुप्रिएको बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
दाहालले सरकारको असक्षमताका कारण बैंकमा पैसा थुप्रिएको र यसले पूँजी पलायनको खतरा बढेको बताएका हुन् । योसँगै उनले उनले सरकारकै अकर्मण्यताका कारण ब्याजदर न्यून स्तरमा झर्दा पनि कर्जा प्रवाह हुन नसकेर बैंकहरमा झण्डै ७ खर्ब रुपैयाँ थुप्रिएको बताएका छन् ।
सभामा उनले सरकारका पछिल्ला नीतिका कारण बैंकहरुमा ब्याजदर अझै तल झर्ने, बचत निरुत्साहित हुनुका साथै पूँजी पलायन हुने अवस्था देखिएको पनि उल्लेख गरेका छन्।