काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लङ्घन गरेको ठहर गर्दै एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिलाई सचेत गराएको छ।
बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक सुपरिवेक्षण प्रतिवेदन अनुसार बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन तथा नियामकीय व्यवस्था पालना नगरेपछि कारबाही गरिएको हो।
राष्ट्र बैंकका अनुसार बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५२ को उपदफा (२) विपरीत आफ्नो वास्तविक तथा नाफा–नोक्सान हिसाबको विवरण समयमै पेश नगरेको पाइएको छ। यसका कारण बैंकको लेखापरीक्षण सम्पन्न हुन ढिलाइ भएको तथा वार्षिक साधारणसभा समेत समयमै सम्पन्न हुन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रतिवेदनले बैंकले प्रचलित कानुनी तथा नियामकीय व्यवस्था उल्लङ्घन गरेको निष्कर्ष निकाल्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालक समितिलाई सचेत गराएको जनाएको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण समयमै तयार गरी नियामकसमक्ष पेश गर्न, लेखापरीक्षण तथा वार्षिक साधारणसभा कानुनले तोकेको समयसीमाभित्र सम्पन्न गर्न तथा प्रचलित कानुन र नियामकीय व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ। साथै, यस्ता कमजोरी दोहोरिए थप कडा कारबाही हुन सक्ने संकेत पनि राष्ट्र बैंकले गरेको छ।



