काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको २० वर्ष पूरा गरी औपचारिक रूपमा २१औं वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यालय विर्तामोडमा विहान ६:३० बजे वित्तीय साक्षरतासम्बन्धी प्लेकार्डसहित प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमअन्तर्गत प्रादेशिक अस्पताल भद्रपुरका सम्पूर्ण बिरामी र नेपाल अपाङ्ग संघ, झापा शाखाका सेवाग्राहीहरूलाई फलफूल वितरण गरिएको बैंकले जनाएको छ। साथै, बैंकका सबै शाखाहरुमा ग्राहकहरुलाई चकलेट वितरण गर्दै उत्सव मनाइएको थियो।
२० वर्षको सफल यात्रापछि २१औं वर्षमा प्रवेश गर्ने अवसरमा बैंकले संस्थापक, अग्रज, सेयरधनी, ग्राहक, नियामक निकाय तथा हालका र पूर्व कर्मचारीहरूप्रति आभार व्यक्त गरेको छ। बैंकले आफूलाई सघाउने सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद दिँदै आगामी दिनमा अझ प्रभावकारी, गुणस्तरीय, विश्वासिलो र प्रविधिमैत्री सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।
झापाको विर्तामोडस्थित केन्द्रीय कार्यालयमार्फत संचालनमा रहेको प्रादेशिक विकास बैंकका रूपमा एक्सेल बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, संखुवासभा र धनकुटा जिल्लाका ४७ शाखा तथा तीनवटा एटीएममार्फत सेवा दिँदै आएको छ। बैंकले आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लामा समेत सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।