काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा सम्बन्धी विवरणमा गम्भीर त्रुटि गरेको, नियामकीय निर्देशन पटक–पटक उल्लङ्घन गरेको तथा राष्ट्र बैंकमा पेश गरिएको कर्जा विवरण र कोर बैंकिङ प्रणालीको विवरणबीच फरक भेटिएको भन्दै प्रभु बैंक लिमिटेडमाथि कडा नियामकीय कारबाही गरेको छ।
बैंक सुपरिवेक्षण विभागका अनुसार समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदनमा देखिएका गम्भीर कमजोरी समयमै सुधार नगरेपछि बैंक सञ्चालक समितिलाई सुधार योजना तयार गरी तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको हो।
राष्ट्र बैंकले प्रभु बैंकले कर्जा वर्गीकरणमा त्रुटि गरेको, पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको तथा एकीकृत निर्देशन, २०८१ सहित कर्जा सम्बन्धी विभिन्न नियामकीय व्यवस्था पटक–पटक उल्लङ्घन गरेको जनाएको छ।
यस्तै, राष्ट्र बैंकमा पेश गरिएको कर्जा विवरण र बैंकको कोर बैंकिङ प्रणालीबाट प्राप्त विवरणबीच फरक देखिएको पनि निरीक्षणमा खुलासा भएको छ।
यिनै कमजोरीका आधारमा प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२)(ग) बमोजिम ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले बैंकमा प्रभावकारी आन्तरिक नियन्त्रण, कर्जा जोखिम व्यवस्थापन तथा नियामकीय निर्देशनको पूर्ण पालना सुनिश्चित गर्न आवश्यक सुधार तत्काल लागू गर्न बैंकलाई निर्देशन दिएको छ।


