ऋण लिनुअघि आम्दानी, ब्याजदर र जोखिमबारे बुझ्न सर्वसाधारणलाई नेपाल राष्ट्र बैंकको सुझाव ! (सूचनासहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई ऋण लिनुअघि आफ्नो आम्दानी, आर्थिक अवस्था, ब्याजदर तथा ऋण तिर्न सक्ने क्षमताको राम्रोसँग मूल्याङ्कन गर्न आग्रह गरेको छ। वित्तीय साक्षरता तथा ग्राहक संरक्षणसम्बन्धी सन्देश जारी गर्दै राष्ट्र बैंकले अनावश्यक ऋण नलिन र ऋणलाई उत्पादनशील तथा आम्दानी वृद्धि गर्ने काममा प्रयोग गर्न सुझाव दिएको हो।

राष्ट्र बैंकका अनुसार ऋण लिनुअघि आफ्नो आम्दानीको तुलनामा तिर्नुपर्ने ऋणको अनुपात (Debt Service to Income Ratio) मूल्याङ्कन गर्नुपर्छ। पहिले लिएको ऋणको किस्ता तिर्न नयाँ ऋण लिँदा अत्यधिक ऋणको जोखिम बढ्न सक्ने भएकाले वैकल्पिक उपायबारे बुझेर मात्र निर्णय लिनुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै, ऋण लिँदा विभिन्न बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउने ब्याजदर, सेवा शुल्क, प्रक्रिया, ऋण अवधि र सर्तहरूको तुलना गर्नुपर्ने राष्ट्र बैंकको सुझाव छ। ऋणको वास्तविक वार्षिक लागत गणना गर्नुका साथै ब्याजदर स्थिर वा परिवर्तनशील हो भन्ने विषयमा पनि जानकारी लिनुपर्ने बताइएको छ। ऋण सम्झौतामा हस्ताक्षर गर्नुअघि सबै सर्त ध्यानपूर्वक पढ्न र किस्ता समयमै भुक्तानी गर्न राष्ट्र बैंकले आग्रह गरेको छ। किस्ता भुक्तानीमा ढिलाइ हुँदा विलम्ब शुल्क तथा चक्रवृद्धि ब्याज लाग्न सक्ने भएकाले यसबारे सचेत रहनुपर्नेछ।

धितो राख्दा वा जमानत बस्दा त्यससँग सम्बन्धित कानुनी दायित्व र सर्तहरू स्पष्ट रूपमा बुझ्नुपर्नेमा पनि राष्ट्र बैंकले जोड दिएको छ। ऋण लिएको रकम तोकिएको उद्देश्यअनुसार मात्र प्रयोग गर्न, आम्दानी घट्न सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्न र आवश्यकताअनुसार ऋण बीमासम्बन्धी व्यवस्था बुझ्नसमेत सुझाव दिइएको छ। ऋण तिर्न कठिनाइ भएमा समयमै सम्बन्धित वित्तीय संस्थासँग सम्पर्क गरी समाधानका विकल्प खोज्नुपर्ने राष्ट्र बैंकको भनाइ छ।

ग्राहकले वित्तीय सेवासम्बन्धी जानकारी लिन, आवश्यक परामर्श प्राप्त गर्न तथा सेवा असन्तुष्टिका विषयमा गुनासो गर्न सक्ने व्यवस्था रहेको पनि राष्ट्र बैंकले जनाएको छ। औपचारिक वित्तीय संस्थाबाट मात्र ऋण लिन आग्रह गर्दै अनौपचारिक क्षेत्रबाट लिइएको ऋणसम्बन्धी गुनासोको सुनुवाइ नहुन सक्ने विषयमा समेत सचेत गराइएको छ। राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा आफ्नो अधिकार र दायित्व बुझेर जिम्मेवार रूपमा ऋण लिन तथा वित्तीय अनुशासन कायम गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

गुनासो कहाँ गर्ने?

वित्तीय सेवासम्बन्धी गुनासो अनलाइनमार्फत नेपाल राष्ट्र बैंकको गुनासो दर्ता पोर्टलमा गर्न सकिन्छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्