काठमाडौँ। इजिप्टले बैंक अफ कायरोको ४५ प्रतिशत सेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत बिक्री गर्दै ३६ अर्ब ३० करोडभन्दा बढी इजिप्टियन पाउन्ड संकलन गरेको छ। यो रकम इजिप्टियन एक्सचेन्जको इतिहासमा हालसम्मकै ठूलो सार्वजनिक निष्कासन भएको सरकारले जनाएको छ।
सरकारी विवरणअनुसार आईपीओअन्तर्गत ६ अर्ब ८६ करोडभन्दा बढी कित्ता सेयर बिक्री गरिएको हो। उक्त कारोबारपछि बैंकको कुल मूल्यांकन करिब ८० अर्ब ८० करोड इजिप्टियन पाउन्ड पुगेको छ। संकलित रकम अमेरिकी डलरमा करिब ६५ करोड ७ लाख बराबर हुन्छ।
सेयर कारोबार सुरु भएको अवसरमा आयोजित उद्घाटन समारोहमा इजिप्टका प्रधानमन्त्री मुस्तफा मदबौली सहभागी भएका थिए। कायरोस्थित इजिप्टियन एक्सचेन्जमा आयोजित कार्यक्रममा बैंकिङ तथा पुँजी बजार क्षेत्रका उच्च अधिकारीहरूको पनि उपस्थिति थियो।
प्रधानमन्त्री मदबौलीले बैंकको सेयर सूचीकृत हुनुलाई इजिप्टको आर्थिक सुधार कार्यक्रमको महत्वपूर्ण उपलब्धि बताए। यसले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने तथा व्यक्तिगत र संस्थागत लगानीकर्तामाझ सेयर स्वामित्व बढाउने उद्देश्यसहित अघि सारिएको सरकारको ‘राज्य स्वामित्व नीति’लाई प्रतिबिम्बित गरेको उनको भनाइ थियो।
इजिप्टियन एक्सचेन्जका अध्यक्ष ओमार रदवानले उक्त सेयर निष्कासनले देशको पुँजी बजारमा नयाँ अध्याय सुरु गरेको बताए। बैंक अफ कायरोको आईपीओलाई इजिप्ट सरकारले अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका बढाउने र पुँजी बजारलाई थप विस्तार गर्ने आफ्नो नीतिअन्तर्गतको महत्वपूर्ण कदमका रूपमा लिएको छ।


