काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धनेन्द्र कार्कीलाई कालोसूचीमा राख्न बैंकमा निवेदन परेको पाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुली क्षेत्र नम्बर १ का सांसद धनेन्द्र कार्कीविरुद्ध बैंकमा कालोसूचीमा राख्न निवेदन परेको खुलेको छ।
चितवनको खैरहनी नगरपालिकामा करिब ११ महिनाअघि खरिद गरेको घरको १८ लाख रुपैयाँ अझै भुक्तानी गर्न बाँकी रहेको दाबी गरिएको छ।
सांसद कार्कीले चितवनको खैरहनीस्थित मनोज महतोको दुईतले घर १ करोड रुपैयाँमा खरिद गरेका थिए। घरधनी महतो विदेश जाने तयारीमा रहेकाले बिक्री भएको बताइएको छ। खरिदका क्रममा कार्कीले ७० लाख रुपैयाँ तत्काल भुक्तानी गरेका थिए भने बाँकी ३० लाख रुपैयाँ पछि तिर्ने सहमति भएको थियो।
उक्त रकम महतोका ससुरा रुदल महतोको बैंक खातामा जम्मा गर्ने समझदारी भएको जनाइएको छ।
तर, सहमतिअनुसार रकम भुक्तानी नभएको र कार्कीले दिएको आईसीएफसी बैंकको चेक साटिन नसकेको दाबी गरिएको छ। त्यसपछि रुदल महतोले चेक बाउन्सको मुद्दा दर्ता गराएका थिए, जसका कारण कार्कीको बैंक खाता पनि रोक्का भएको बताइएको छ।
स्रोतका अनुसार उक्त मुद्दाका कारण सांसदको सपथग्रहण प्रक्रियासमेत प्रभावित हुने अवस्था आएपछि कार्कीले १० लाख रुपैयाँ भुक्तानी गरेपछि मुद्दा फिर्ता लिइएको थियो।

