DISH HOME

नेपाललाई विश्व बैंकको २५ करोड ७० लाख डलर ऋण, विद्युत र सिंचाई क्षेत्रमा सुधार हुने

काठमाडौं । विश्व बैंकले नेपालका दुई प्रमुख परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकृत गरेको छ । मे २९ मा बसेको विश्व बैंकको कार्यकारी निर्देशक समिति बैठकले यो ऋण स्वीकृत गरेको हो भन्ने जानकारी बैंकले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत दिएको छ ।

यस ऋण सहयोगमार्फत नेपालको विद्युत् वितरण प्रणालीको सुधार र सिंचाइ सेवाको स्तरोन्नति गरी कृषि उत्पादन वृद्धि गर्ने लक्ष्य लिइएको छ।

विद्युत् आपूर्ति प्रणाली सुधार परियोजनाका लागि १२ करोड डलर ऋण उपलब्ध हुनेछ । यस अन्तर्गत कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका वितरण संरचना सुदृढ गरिनेछ। नेपाल विद्युत प्राधिकरणमार्फत सञ्चालन हुने यस परियोजनाले नयाँ सबस्टेसन निर्माण, वितरण लाइनको स्तरोन्नति, र निगरानीका लागि आधुनिक स्वचालित प्रणाली विकासमा ध्यान दिनेछ।

यस्तै, रानी जमरा कुलरिया सिँचाइ आयोजनाको तेस्रो चरणका लागि १३ करोड ७० लाख डलर ऋण स्वीकृत भएको छ। परियोजना सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा वर्षभर सिंचाइ सुविधा विस्तार गरी कृषि उत्पादन बढाउने उद्देश्यमा केन्द्रित छ।

यस आयोजनाबाट थप १७ हजार ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याइनेछ र करिब १ लाख ६० हजार स्थानीय बासिन्दा लाभान्वित हुने अनुमान गरिएको छ। विश्व बैंकले यी परियोजनाहरूले नेपालमा पूर्वाधार सुदृढीकरण र ग्रामीण क्षेत्रको आर्थिक समृद्धिमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै