काठमाडौँ । ग्लोबल आइएमई बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २२.६७ प्रतिशतले बढेको छ ।
बैंकले उक्त अवधिमा कुल ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ खर्ब ७ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
त्यस्तै, बैंकको खुद ब्याज आम्दानी १६ अर्ब २० करोड ३० लाख रुपैयाँ पुगेको छ भने बैंकको खराब कर्जा १.२२ प्रतिशतबाट घटेर ०.५९ प्रतिशत कायम भएको छ ।
वित्तीय विवरण अनुसार बैंकको इम्पेयरमेन्ट चार्ज घटेर ४ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ पुगेको छ भने बैंकको सञ्चालन नाफा २०.०३ प्रतिशतले बढेर ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ ।
साथै, बैंकको प्रतिसेयर वितरणयोग्य नाफा १२ रुपैयाँ २ पैसा छ भने बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी (इपिएस) ३ रुपैयाँ ०२ पैसाले बढेर १३ रुपैयाँ ३२ पैसाबाट १६ रुपैयाँ ३४ पैसा कायम भएको छ।
यता बैंकको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ १४ पैसा रहेको बैंकले सार्वजनिक गरेको विवरणले देखाएको छ।


