HIMALAYAN LIFE

प्रभु बैंक: पूर्व हाकिमहरु फरार, चिफ बिजनेश अफिसर हिरासतमा, सञ्चालक विवादमा, बैंक नियामकीय कारवाहीमा !

काठमाडौँ । जनताको अरवौं निक्षेप छ प्रभु बैंकमा । निक्षेपसँगै लाखौँ जनताको विश्वास पनि छ प्रभु बैंकमा । तर जनताको अर्वौं रुपैयाँ रहेको बैंक पछिल्लो समय घोटाला, बेथिति, विवादको चंगुलमा छ । बैंकभित्र घोटालाका यति धेरै केस छन् कि, बैंकको उच्च तहको सेट नै परिवर्तनजस्तै भईसकेको छ । पूर्व हाकिमहरु फरार छन् भने केहि अनुसन्धानको ‘राडार’मा छन् ।

राष्ट्र बैंकको पछिल्लो कारवाहीले गरेको छ गम्भीर संकेत !
नियामक नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई गरेको पछिल्लो कारवाहीले बैंकभित्र कुन हदसम्मको बेथिति छ भन्ने तथ्य उजागर गरिदिएको छ । बदमासी र बेथितिले हद नाघेपछि बैंक सञ्चालक समितिलाई सुधार योजना तयार गरी तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ भने तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(ग) बमोजिम ५ लाख रुपैयाँ नगद जरिवाना गरेको छ ।

बैंकको बदमासी यो हदसम्म भेटिएको छ कि, समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन, २०८१ मा औँल्याइएका गम्भीर कैफियत समयमै सुधार नै गर्न बैंकले अटेरी गरेको रहेछ । कर्जा सम्बन्धी राष्ट्र बैंकका निर्देशन पटक–पटक उल्लङ्घन गरेको बैंकले कर्जा वर्गीकरण नगरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको छ । नियामकले जारी गरेको एकीकृत निर्देशन, २०८१ को इ.प्रा. निर्देशन नं. २ पालना नगरेक बैंकले राष्ट्र बैंकमा पेश गरिएको कर्जा विवरण र बैंकको कोर बैंकिङ प्रणाली बाट प्राप्त विवरणबीच फरक रहेकोसमेत पाइएको छ । अर्थात् बुझ्ने भाषामा भन्दा प्रभु बैंकले राष्ट्र बैंकलाई फर्जी कागज बुझाउने गरेको तथ्य छताछुल्ल भएको छ ।

हाकिमहरु कोहि फरार, कोहि हिरासतमा, बाँकी पनि बयानमै व्यस्त !
प्रभु बैंकका पूर्व सिइओसहित, डेपुटी सीइओ हुँदै अन्य उच्च अधिकारीहरुसमेत फरार छन् । अदालतले उनीहरुलाई पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । तर उनीहरु भागेको भाग्यै छन् । बैंककी तत्कालीन चिफ बिजनेश अफिसर रश्मी पन्त हिरासतमा छिन् । केहि दिन अघिमात्र ५६ लाख रुपैयाँ धरौटी राखेर एउटा केसमा थुनामुक्त भएकी रश्मी फेरी अर्को करोडौंको घोटालाको केसमा पक्राउ परेकी छिन् । बैंकका तत्कालीन अन्य उच्च अधिकारीहरुलाई पनि प्रहरीले खोजिरहेको छ । प्रभुमा हाल रहेका केहि उच्च अधिकारीहरु पनि प्रहरीमा बयान दिईरहेका छन् ।

प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्त पक्राउ

संचालकहरु विवादै विवादमा !
प्रभु बैंकभित्र संचालकको विवाद पनि एकपछि अर्को गर्दै आईरहेको छ । बैंकका अहिलेका संचालक बिर्खबहादुर बस्नेत कहिले सर्वसाधारण समूह त कहिले संस्थापक समूहबाट संचालक बनेको भन्दै विवादमा छन् । स्वयम् राष्ट्र बैंकले त्यसो गर्न कानुनी व्यवस्थाअनुसार नमिल्ने बताईरहेका छन् । बैंककी संचालक अम्बिका लामिछाने यसै पनि आफ्नो कम्पनीलाई बिजनेश दिएको भन्दै विवादमा छिन् । उनीविरुद्ध साधारण सभामै सेयरधनीहरुले गम्भीर प्रश्न उठाएका थिए ।

बैंकमा संचालक रहेका रमेश राज अर्याल पनि विवादित व्यक्ति हुन् । उनी यसअघि सिटिजन्स बैंकमा संचालक थिए । तर उनको पद गैरकानुनी भएको भन्दै राष्ट्र बैंकले उनलाई बैंकको संचालकबाट बाहिरिन अन्यथा निकाल्ने भनेको थियो । त्यसपछि उनी बैंकको सो पदबाट निस्केका थिए । त्यसभन्दा अघि तत्कालीन कुमारी बैंकको सीइओबाट निस्किदा पनि उनलाई गैरकानुनी तलव बुझेको आरोप लागेको थियो । आरोप पुष्टी भएपछि उनलाई राष्ट्र बैंकले करोडौँ तलव फिर्ता गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार तलव फिर्ता गरेर उनी बैंकको संचालक बन्न पुगेका थिए ।

रोकिएको छैन आन्तरिक गुट उपगुटको खेल !
बैंकभित्र अहिले पनि गुट उपगुटको खेल रोकिएको छैन । यहि सोमबारदेखि लागु हुनेगरी बैंकका चिफ बिजनेश अफिसर रमेश कुमार श्रेष्ठलाई धनगढी सरुवा गरिएको छ । आफ्नो सरुवाका लागि बैंकभित्र तत्कालीन सेन्चुरीबाट आएका दिपेन्द्र बिष्ट, रविन्द्र ढकाल लगायत लागेको श्रेष्ठको दाबी छ । ढकाल सीइओको नजिक हुन र बिष्टले सीबिओ पद पाउन आफुविरुद्ध ‘राजनीति’ गरेको आरोप उनको छ । यद्यपी सूचना अधिकारीसमेत रहेका ढकाल यस विषयमा प्रतिक्रिया नै दिन चाहादैनन् ।

राष्ट्र बैंकलाई ऋणसम्बन्धि फेक विवरण बुझाएको पाइएपछि प्रभु बैंकमाथि राष्ट्र बैंकको कारवाही !

नियामकीय दबाबबीच विश्वास जोगाउने चुनौती
बैंकका थुप्रै शाखामा अनेक घोटाला काण्ड घटेका छन् । केहि घोटालाका केस अदालतमा विचाराधीन छन् । संचालक समितिमा विवादै विवाद छ । पूराना हाकिमहरुले गरेको बदमासीले नयाँ सीइओलाई बैंक चलाउन अफ्ट्यारो परिरहेको छ । केहि टाँट पल्टिन लागेका भनी चर्चा भएका व्यापारीहरुलाई कर्जा तिर्न बैंकले ताकेता गरिरहेको छ । यहि बीच नेपाल राष्ट्र बैंकले निरीक्षणका क्रममा देखिएका विभिन्न कमजोरी औँल्याउँदै बैंकमाथि कारबाही गरिसकेको छ । यससँगै आन्तरिक व्यवस्थापन, सञ्चालक समिति, कर्मचारी सरुवा तथा नियामकीय अनुपालनका विषयले प्रभु बैंकमाथि थप दबाब सिर्जना गरेको देखिन्छ ।

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।