काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई नयाँ अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ। शुक्रबार बसेको समितिको बैठकले अध्यक्ष चयन गरेसँगै ढकालले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।
ढकालसँग नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा बढीको सेवा अनुभव छ। उनले राष्ट्र बैंकमा विभिन्न जिम्मेवारीहरूमा काम गर्दै अन्त्यमा निर्देशकको हैसियतमा कार्य गरेका थिए। वित्तीय प्रणाली, बैंकिङ प्रशासन तथा नियमनका विषयमा उनको गहिरो ज्ञान र अनुभव रहेको छ।
अध्यक्ष पदमा नियुक्त भएपछि उनलाई सञ्चालक समिति सदस्य महेश भट्टराई, लक्ष्मण घिमिरे, प्रा.डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्यबहादुर राना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, कम्पनी सचिव प्रमोद अधिकारी तथा अन्य व्यवस्थापन टोलीले स्वागत गरेका थिए।
वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ३०९ शाखामार्फत देशका ७७ वटै जिल्लामा करिब ४७ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। बैंकले प्रविधिमा आधारित वित्तीय समावेशीकरण तथा दिगो बैंकिङ सेवाको विस्तारमा विशेष ध्यान दिँदै आएको छ।