काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएसँगै नेपाल राष्ट्र बैंकले पुनः निक्षेप संकलन उपकरण प्रयोग गर्दै ५० अर्ब रुपैयाँ तान्ने भएको छ । आज साउन ४ गते दिउँसो ३ बजे यसका लागि बोलकबोल प्रक्रिया हुनेछ। राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न यो उपकरण लगातार प्रयोग गरिरहेको छ।
बोलकबोलमा सहभागी हुन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्मको प्रस्ताव पेश गर्न सक्नेछन्। अधिकतम प्रस्ताव रकममा भाग गर्दा बाँकी नछोडिने गरी प्रस्ताव पेश गर्नुपर्नेछ।
ब्याजदरमा प्रतिस्पर्धात्मक बोलकबोल हुनेछ भने बहुब्याजदरका आधारमा पनि प्रस्ताव दिन सकिनेछ। यो निक्षेप संकलन ४२ दिने अवधि अर्थात् भदौ १५ गते साँवा तथा ब्याज भुक्तानी मितिमा परिपक्व हुनेछ।
हाल कर्जाको माग नबढेको, तर निक्षेप बढ्दो रहेको कारण बैंकिङ प्रणालीमा तरलता थुप्रिएको छ। यसले गर्दा बैंक तथा वित्तीय संस्थाहरू न्यूनतम झण्डै ३ प्रतिशत ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा लगानी गर्न बाध्य भएका छन्।