काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच सम्झौता भएको छ। बैंकका कर्मचारीको अवकाश कोष व्यवस्थापन गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र कर्मचारी सञ्चय कोषका निमित्त प्रशासक जीवनकुमार कटुवालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौता अनुसार अबदेखि राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको सञ्चय कोषलगायत अवकाश कोषहरूको व्यवस्थापन कर्मचारी सञ्चय कोषले गर्नेछ। हाल बैंकमा दुई हजार ९५५ कर्मचारी कार्यरत छन्।
पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले हाल सातै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रसमेत समेट्ने गरी ३१६ शाखामार्फत ४८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।
बैंकले कर्जा, निक्षेप, एटीएम, मोबाइल बैंकिङ्गलगायत आधुनिक डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ।


