काठमाडौं । नेपाल राष्ट्र बैंकले निष्क्रिय कर्जाको निरन्तर वृद्धि र घट्दो पुँजी पर्याप्तता अनुपातले मुलुकको वित्तीय प्रणालीमा गम्भीर चुनौती थपिएको जनाएको छ। आर्थिक वर्ष २०८०-८१ को ‘फाइनान्सियल स्टाबिलिटी रिपोर्ट’ सार्वजनिक गर्दै केन्द्रीय बैंकले वित्तीय प्रणाली समग्रमा स्थिर देखिए पनि केही सूचकहरू चिन्ताजनक दिशातर्फ गएको जनाएको छ ।
राष्ट्र बैंकको रिपोर्टअनुसार,२०८०-८१ मा बैंकहरूको निष्क्रिय कर्जा अनुपात ३.८६ प्रतिशत पुगेको थियो, जुन चैत मसान्तसम्ममा ५ प्रतिशतभन्दा माथि पुगिसकेको छ। यसले बैंकहरूको नाफामा प्रत्यक्ष असर पारेको छ । निष्क्रिय कर्जाको बढोत्तरीले गर्दा बैंकको कुल नाफा ७.२२ प्रतिशतले घटेर ७१.४३ अर्ब रुपैयाँमा सीमित भएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।
अर्थतन्त्रमा सुधारका संकेत, तर जोखिम कायमै
वैश्विक अर्थतन्त्र सन् २०२४ मा ३.२ प्रतिशतको दरले वृद्धि हुँदै स्थिर देखिए पनि नेपालमा ३.८७ प्रतिशतको आर्थिक वृद्धि दर हासिल भएको रिपोर्टमा उल्लेख छ। यो वृद्धि मुख्यत: सेवा क्षेत्र, कृषि र ऊर्जा उत्पादनको विस्तारले सम्भव भएको हो।
उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.५७ प्रतिशत कायम भएको छ, जुन लक्ष्यभन्दा केही माथि भए पनि घट्ने प्रवृत्तिमा रहेको देखिएको छ।
विप्रेषणमा १६.५ प्रतिशतको वृद्धि, सकारात्मक भुक्तानी सन्तुलन, र वैदेशिक मुद्रा सञ्चिति बढ्नु जस्ता कारकहरूले नेपालको बाह्य क्षेत्र बलियो बनेको बताइएको छ, जुन आर्थिक स्थायित्वका लागि सकारात्मक संकेत मानिएको छ।
तरलता व्यवस्थापन र डिजिटल कारोबारमा सुधार
राष्ट्र बैंकको लचिलो मौद्रिक नीतिका कारण वित्तीय प्रणालीमा आवश्यक तरलता कायम भएको देखिन्छ। विस्तृत, मुद्राप्रदायमा १३ प्रतिशत, निजी क्षेत्रको कर्जामा ५.८ प्रतिशत, तथा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा पनि १३ प्रतिशतको वृद्धि देखिएको छ।
यस अवधिमा रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम , कनेक्ट आईपीएस र पोनपे लगायत डिजिटल भुक्तानी माध्यमहरूको प्रयोग उल्लेख्य रूपमा बढेको छ। साथै, सबै स्थानीय तहमा बैंकको उपस्थितिले वित्तीय पहुँच विस्तारमा सहयोग गरेको छ।
सावधानी र सक्रिय नियमनको खाँचो
रिपोर्टको निष्कर्षमा भनिएको छ, ‘अर्थतन्त्रमा सकारात्मक संकेत देखिए तापनि प्रणालीगत जोखिमहरू अझै विद्यमान छन् । त्यसैले, वित्तीय स्थायित्व कायम राख्न नियामक निकायहरूले निरन्तर सावधानी, निगरानी र सक्रिय हस्तक्षेप गर्नुपर्ने आवश्यकता छ।’