काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत सुशासनसम्बन्धी नियामकीय व्यवस्था उल्लङ्घन गरेको ठहर गर्दै मुक्तिनाथ विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकाललाई सचेत गराएको छ।
वित्तीय संस्था सुपरिवेक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक सुपरिवेक्षण प्रतिवेदन अनुसार बैंकको स्थलगत निरीक्षणका क्रममा अध्यक्ष ढकाल बैंकको भवन निर्माण प्रयोजनका लागि गठन गरिएको भवन निर्माण समितिको संयोजकका रूपमा संलग्न रहेको पाइएको हो।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशन मा सञ्चालक समितिका अध्यक्ष कुनै पनि आन्तरिक समिति वा उपसमितिमा सदस्य वा संयोजक हुन नपाइने स्पष्ट व्यवस्था छ। तर, उक्त व्यवस्था विपरीत अध्यक्ष ढकाल भवन निर्माण समितिको संयोजकका रूपमा सहभागी भएको निरीक्षणबाट पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ।
यही नियामकीय व्यवस्था उल्लङ्घन गरेको ठहर गर्दै नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० बमोजिम सञ्चालक समितिका अध्यक्ष भरतराज ढकाललाई सचेत गराएको हो।
राष्ट्र बैंकले बैंकहरूलाई संस्थागत सुशासनसम्बन्धी व्यवस्था कडाइका साथ पालना गर्न तथा सञ्चालक समितिको भूमिका नियामकीय सीमा र निर्देशनअनुसार सञ्चालन गर्न निर्देशन दिएको छ।



