काठमाडौँ। प्रभु बैंकले पूर्व अर्थ सहायक मन्त्री रुप ज्योतिका दुई ठूला कम्पनीहरूको धितोमा रहेको सम्पत्ति लिलाम गर्न लागेको छ। लिलाम बिक्रीका लागि प्रभु बैंकले बोलपत्र आह्वान समेत गरेको छ ।
बैंकले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै ज्योति ग्रुपका दुई कम्पनी नर्थ फेस होटल र नेपाल जनरल मार्केटिङ्ग प्रालिको नाममा रहेको चलअचल सम्पत्ति लिलाम गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
रुप ज्योति ज्योति ग्रुपका अध्यक्ष हुन् । बैंकले यसअघि पटक-पटक मौखिक तथा लिखित ताकेता गर्नुका साथै ३५ दिने र १५ दिने सार्वजनिक सूचना जारी गर्दा पनि ऋणी र जमानतकर्ताहरूले कर्जा राफसाफ गर्न चासो नदेखाएपछि अन्तिम पटक ७ दिने सूचना निकालिएको हो ।
बैंकका अनुसार लिलामीमा राखिएको पहिलो कम्पनी नर्थ फेस होटल प्रालि रहेको छ। जसको सञ्चालक तथा जमानतकर्ता उद्योगी तथा पूर्वमन्त्री रुप ज्योति रहेका छन् ।
बैंकले यी सम्पत्तिहरू ‘जे जस्तो अवस्थामा छ, सोही अवस्थामा’ बिक्री गर्ने स्पष्ट पारेको छ ।


