काठमाडौँ। नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले नगद विदेशी मुद्रा नेपालमा भित्र्याउने तथा नेपालबाट बाहिर लैजाने सम्बन्धी व्यवस्थामा स्पष्टता ल्याएको छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ५ र १२ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २९ को आधारमा यसअघिको व्यवस्था पुन: लागू गरिएको राष्ट्र बैंकले जनाएको हो।
सूचनाअनुसार नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजार सम्म बराबरको नगद विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपालमा भित्र्याउन सक्नेछन्।
भारतीय रुपैयाँका हकमा पनि अमेरिकी डलर ५ हजार बराबरसम्मको रकम तथा राष्ट्र बैंकले विनिमय दर प्रकाशित नगर्ने अन्य विदेशी मुद्राका हकमा पनि सोही सीमासम्म घोषणा आवश्यक नपर्ने व्यवस्था छ । तर, अमेरिकी डलर ५ हजार भन्दा बढी बराबरको नगद विदेशी मुद्रा नेपालमा ल्याउँदा भने अनिवार्य रूपमा भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
भारतीय मुद्रासम्बन्धी व्यवस्थाबारे पनि राष्ट्र बैंकले पुन: स्पष्ट पारेको छ। मिति २०८२ पुस २८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सन् २०१६ नोभेम्बर ९ भन्दा अघि चलनचल्तीमा रहेका भारतीय ५०० र १,००० दरका नोटको कारोबार पूर्ण रूपमा निषेध गरिएको छ ।
यस्तै, सन् २०१६ नोभेम्बर ९ पछि जारी भएका भारतीय २०० र ५०० दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम भारतीय रुपैयाँ २५,००० सम्म प्रचलित व्यवस्थाअनुसार ल्याउन, लैजान तथा सटही गर्न सक्नेछन्।
राष्ट्र बैंकले नेपाली नागरिकले भारतबाहेक अन्य कुनै पनि मुलुकमा भारतीय रुपैयाँ लैजान वा त्यहाँबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था यथावत् रहेको पनि व्यवस्था छ ।

