काठमाडौँ। नेपाल एसबीआई बैंकको कमर्सियल शाखाका १३ कर्मचारीले शाखा प्रबन्धकबाट मानसिक उत्पीडन, अपमानजनक व्यवहार र राति ११ बजेसम्म जबरजस्ती ओभरटाइम गराइएको आरोप लगाउँदै मानव अधिकार आयोगमा उजुरी दिएका छन्। बैंकको लैनचौरस्थित कमर्सियल शाखामा कार्यस्थलको वातावरण, कर्मचारी उत्पीडन र असन्तुलित कार्य बोझलाई लिएर विवाद बाहिर आएको छ।
बैंकको कुल कर्जा लगानीको करिब २५ प्रतिशत हिस्सा ओगट्ने र अर्बौंको निक्षेप एवं ऋण व्यवस्थापन गर्ने यस शाखाका १५ जना वर्तमान तथा पूर्व कर्मचारीहरूले शाखा प्रबन्धकको व्यवहार र कार्यशैलीविरुद्ध बैंक कर्मचारी संघमा सामूहिक उजुरी दिएका हुन् ।
यतिसम्मकी बैंकको दमनमा परेका कर्मचारीले मानव अधिकार आयोग गुहारेका छन् । बैंकको दमनमा परेका कर्मचारीले मानव अधिकार आयोगमा मानव अधिकारको सम्मान र संरक्षण नभएको भन्दै उजुरी दिएका हुन् ।
बैंकको कमर्सियल शाखामा कार्यरत १३ जना कर्मचारीले शाखा प्रबन्धकबाट मानसिक उत्पीडन, अपमानजनक व्यवहार भएको भन्दै आयोगमा उजुरी दिएका हुन् । राति ११ बजेसम्म जबरजस्ती तोकिएको समय भन्दा बढी काम ओभरटाइम’ गराइएको भन्दै कर्मचारीहरूले आयोगमा लिखित उजुरी दिएका हुन् ।
बैंकका कर्मचारीमाथि भएको दमनलाई आयोगले पनि गम्भीरतापूर्वक हेरेको छ । आयोगले नेपाल राष्ट्र बैंक र नेपाल एसबीआई बैंकसँग कर्मचारीमाथि भएको मानसिक उत्पीडन र जबरजस्ती ओभरटाइम सम्बन्धी उजुरीबारे सात दिनभित्र विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
घटनाबारे के कस्तो भएको हो भन्ने सम्बन्धमा सम्पूर्ण विवरण पत्र प्राप्त भएको मितिले सात दिनभित्र उपलब्ध गराई अनुसन्धानमा सहयोग गर्न आयोगले नेपाल राष्ट्र बैंक र नेपाल एसबीआई बैंकलाई अनुरोध गरेको छ ।
चैत १८ मा दर्ता गराइएको उक्त उजुरी पत्रमा शाखा प्रबन्धकका कारण कर्मचारीको मनोबल, कार्यक्षमता र ग्राहक सेवामा गम्भीर असर परेको उल्लेख छ ।



