पूँजी पर्याप्तता अनुपात बढी देखाएको भन्दै हिमालयन बैंकका सीईओमाथि राष्ट्र बैंकको कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लङ्घन गरेको ठहर गर्दै हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माथि कारबाही गरेको छ। साथै, बैंकको सञ्चालक समितिलाई पनि सचेत गराएको छ।

बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक सुपरिवेक्षण प्रतिवेदनअनुसार बैंकले पूँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio) गणना गर्दा नियामकीय निर्देशन पालना नगरी प्राथमिक पूँजीबाट घटाउनुपर्ने रकम नघटाई तथा जगेडा सम्बन्धी रकम समायोजन नगरी वास्तविकभन्दा बढी पूँजी पर्याप्तता अनुपात प्रतिवेदन गरेको पाइएको हो।

राष्ट्र बैंकका अनुसार हिमालयन बैंकले एकीकृत निर्देशन, २०८१ बमोजिम कर्जा जोखिमको वर्गीकरण नगरेको तथा कर्जाको जोखिम भार (Risk Weight) समेत नियमानुसार कायम नगरेको पाइएको छ।

उक्त कमजोरीका आधारमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई निर्देशनात्मक कारबाही (नसिहत) गरिएको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, यी विषयमा समयमै प्रभावकारी अनुगमन तथा निगरानी गर्न नसकेको ठहर गर्दै बैंकको सञ्चालक समितिलाई पनि नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम सचेत गराइएको छ। राष्ट्र बैंकले बैंकलाई नियामकीय व्यवस्था पूर्ण रूपमा पालना गर्न तथा यस्ता कमजोरी तत्काल सुधार गर्न निर्देशन दिएको छ।

HIMALAYAN BANK

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै