काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लङ्घन गरेको ठहर गर्दै प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक समितिलाई सचेत गराएको छ।
बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक निरीक्षण प्रतिवेदनअनुसार बैंकले एकीकृत निर्देशनका विभिन्न व्यवस्था पालना नगरेको पाइएपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम उक्त कारबाही गरिएको हो।
राष्ट्र बैंकका अनुसार प्रभु बैंकले जोखिम सम्पत्तिको वर्गीकरणसम्बन्धी व्यवस्था विपरीत कर्जाको जोखिम भार कायम गरेको छ। साथै, रिस्क प्रिमियम (Risk Premium) बढाएर ब्याज असुल गर्दा त्यसको पर्याप्त आधार गणना नगरेको पनि पाइएको छ।
त्यसैगरी, Capital Adequacy Framework 2015 विपरीत केही कर्जामा कम जोखिम भार (Risk Weight) प्रदान गरी गलत जोखिम सम्पत्ति (Risk Assets) कायम गरेको प्रतिवेदनमा उल्लेख छ।
यी कमजोरीका आधारमा राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको जनाएको छ। यस्तै, सञ्चालक समितिले यस्ता कमजोरीको समयमै निगरानी तथा अनुगमन नगरी सञ्चालक तथा सञ्चालक समितिको कर्तव्य र उत्तरदायित्वसम्बन्धी व्यवस्था पालना नगरेको ठहर गर्दै सञ्चालक समितिलाई समेत सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।



