रिस्क प्रिमियमदेखि निष्क्रिय कर्जा वर्गीकरणसम्मका कमजोरी : राष्ट्र बैंकले ग्लोबल आइएमई बैंकका सीईओलाई गर्‍यो कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय निर्देशन उल्लङ्घन गरेको ठहर गर्दै ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध निर्देशनात्मक कारबाही गरेको छ।

बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक निरीक्षण तथा सुपरिवेक्षण प्रतिवेदनअनुसार बैंकले एकीकृत निर्देशनका विभिन्न व्यवस्था उल्लङ्घन गरेको पाइएपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सीईओलाई कारबाही गरिएको हो।

राष्ट्र बैंकका अनुसार बैंकले रिस्क प्रिमियम (Risk Premium) सम्बन्धी व्यवस्था विपरीत ग्राहकबाट अतिरिक्त ब्याज असुल गरेको रकम फिर्ता गर्न निर्देशन दिइएको भए पनि केही ग्राहकलाई रकम फिर्ता नगरेको पाइएको छ।

त्यसैगरी, पुनर्तालिकीकरण (Rescheduling) तथा पुनर्संरचना (Restructuring) सम्बन्धी मापदण्ड उल्लङ्घन गर्दै व्यवसाय सञ्चालनमा रहेका, लिलामी प्रक्रियामा रहेका तथा Debt-Equity (D/E) Ratio नमिलेका ऋणीलाई समेत आवश्यक आधारबिना पुनर्तालिकीकरण तथा पुनर्संरचना गरेको राष्ट्र बैंकको निष्कर्ष छ।

प्रतिवेदनमा निष्क्रिय (NPA) कर्जासमेत पुनर्तालिकीकरण वा पुनर्संरचना गरी सक्रिय कर्जाको रूपमा वर्गीकरण (Upgradation) गरिएको उल्लेख छ, जुन एकीकृत निर्देशनविपरीत भएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले बैंकलाई यस्ता कमजोरी तत्काल सच्याउन, प्रभावकारी अनुगमन गर्न तथा नियामकीय व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै