‘एआईको मागले ऋण लिने लागत बढाए पनि पुँजीको उपलब्धता समस्या होइन’- अध्यक्ष बङ्गा

काठमाडौं । विश्व बैंकका अध्यक्ष अजय बङ्गाले कृत्रिम बुद्धिमत्ता (एआई) मा बढ्दो लगानीका कारण ब्याजदर र ऋण लागत बढ्न सक्ने चिन्ता भइरहे पनि पुँजीको उपलब्धता तत्काल ठूलो समस्या नरहेको बताएका छन्।

मंगलबार सीएनबीसीको कार्यक्रम ‘स्क्वाक बक्स’सँगको अन्तर्वार्तामा बङ्गाले पुँजीको उपलब्धताबारे प्रतिक्रिया दिँदै भने, ‘यो वास्तवमै समस्या होइन।’ उनका अनुसार विश्व बैंकले गत वर्ष ११२ अर्ब अमेरिकी डलर बराबरको पुँजी परिचालन गरेको थियो।  जुन तीन वर्षअघिको तुलनामा करिब तीन गुणा बढी हो।

बङ्गाले एआई क्षेत्रमा भइरहेको लगानीमा चक्रीय वित्तपोषण र व्यावसायिक मोडेलको दिगोपनाबारे लगानीकर्ताहरूमा चिन्ता रहेको स्वीकार गरे। यद्यपि, उदीयमान अर्थतन्त्रहरूमा भने यस्तो हिचकिचाहट तुलनात्मक रूपमा कम देखिएको उनको भनाइ छ।

उनका अनुसार उदीयमान अर्थतन्त्रहरूमा पुल, सडक तथा अन्य आधारभूत पूर्वाधार निर्माणमा लगानीको आवश्यकता बढी छ। साथै, यी देशहरूले एआईका ठूला र महँगा प्रयोगमा भन्दा साना तथा व्यावहारिक उपयोगमा बढी ध्यान दिने गरेका छन्। यसको विपरीत, विकसित अर्थतन्त्रहरूमा एआईका ठूला परियोजनालाई वित्तपोषण गर्ने आवश्यकता बढी रहेको बङ्गाले बताए। उनले यी दुई प्रकारका अर्थतन्त्रको लगानी आवश्यकता एकअर्काको ठीक विपरीत रहेको उल्लेख गरे।

विश्व बैंकले व्यवस्थापन तथा परिचालन गर्ने निजी पुँजी सरकारहरूलाई प्रत्यक्ष रूपमा नजाने भएकाले केही देशमा बढ्दो सरकारी ऋण, ऋण संकट र सरकारी ऋणपत्रको प्रतिफल (बन्ड यिल्ड) वृद्धिसम्बन्धी चिन्ताबाट यसलाई अलग राख्न सकिने पनि उनले बताएका छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्