काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेड ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ९ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको ९ करोड २४ लाख रुपैयाँको तुलनामा ४.०७ प्रतिशतले मात्र बढेको हो।
नाफामा सामान्य सुधार देखिए पनि बैंकको खुद ब्याज आम्दानीमा भने उल्लेख्य वृद्धि भएको छ। समीक्षा अवधिमा यस्तो आम्दानी ६७.०५ प्रतिशतले बढेर २२ करोड १५ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्ष सोही अवधिमा १३ करोड २६ लाख रुपैयाँ थियो। ब्याज आम्दानी बढ्नु र लागत घट्नुले समग्र आम्दानीमा सकारात्मक प्रभाव पारेको देखिन्छ।
यस अवधिमा बैंकको निक्षेप ३१.८८ प्रतिशतले वृद्धि भई ८ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी ३२.२७ प्रतिशतले बढेर ६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। यद्यपि, कर्जा नोक्सानी व्यवस्था बढेर २ करोड २५ लाख रुपैयाँ पुगेको छ।
सञ्चालन मुनाफा पनि केही सुधारिएको छ। बैंकले १३ करोड ७४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको १३ करोड २० लाख रुपैयाँभन्दा बढी हो। तर, सञ्चित नाफा घटेर १० करोड ७ लाख रुपैयाँमा झरेको छ भने जगेडा कोष ३७ करोड ८३ लाख रुपैयाँ पुगेको छ।
पूँजी पर्याप्तता अनुपात घटेर २४.७१ प्रतिशतमा झरेको छ, जुन गत वर्ष ३४.१९ प्रतिशत थियो। निष्क्रिय कर्जा भने ०.४८ प्रतिशतमै सीमित रहेको छ। साथै, कोषको लागत घटेर ४.५२ प्रतिशतमा आएको छ, जुन अघिल्लो वर्ष ५.६१ प्रतिशत थियो।
बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी १० रुपैयाँ ५४ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ भने १.४३ प्रतिशतले घटेर १३९ रुपैयाँ ३६ पैसा कायम भएको छ। तेस्रो त्रैमासको अन्त्यसम्म बैंकको बजार मूल्य ६२१ रुपैयाँ ९० पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात ५९ गुणा रहेको छ।


