माछापुच्छ्रे बैंकले नेपालपे कार्ड सेवा सुरु गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड ले डिजिटल भुक्तानी प्रणालीलाई थप मजबुत बनाउने उद्देश्यसहित नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँग सहकार्य गरी ‘नेपालपे कार्ड’ सेवा सुरु गर्ने भएको छ। यससम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुबेदी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानबीच हस्ताक्षर भएको हो।

सम्झौतापछि बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड जारी गर्न सक्नेछ। साथै, Discover Network अन्तर्गतका अन्तर्राष्ट्रिय कार्ड र UnionPay कार्डहरू समेत अक्वायर गर्दै नेपालपे कार्डका कारोबारहरू प्रोसेस गर्न सक्ने क्षमता विकास गर्ने जनाएको छ। प्रारम्भिक चरणमा बैंकले आफ्ना १९९ भन्दा बढी एटीएम र ३ हजारभन्दा बढी पीओएस टर्मिनलमार्फत नेपालपे कार्ड अक्वायरिङ सेवा उपलब्ध गराउनेछ।

एनसीएचएलले नेपालपे कार्डको व्यावसायिक विस्तार सुरु गरिसकेको छ। अन्तर्राष्ट्रिय साझेदार डिस्कभर नेटवर्कमार्फत यो कार्ड विश्वभर प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। नेशनल पेमेन्ट स्विच अन्तर्गत सञ्चालनमा आएको नेपालपे कार्डले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र प्रणाली सञ्चालकहरूलाई एउटै प्लेटफर्ममा जोड्ने लक्ष्य राखेको छ।

हाल एनसीएचएलको इएफटी सेवामार्फत १० वटा बैंक तथा वित्तीय संस्थाले अन्तर्राष्ट्रिय कार्ड स्किमहरू प्रोसेस गर्दै आएका छन्। इएफटी र नेशनल पेमेन्ट स्विचबीचको एकीकरणसँगै नेपालपे कार्डको प्रयोग अझ विस्तार हुने अपेक्षा गरिएको छ। नेपालपेमा हालसम्म ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन्।

माछापुच्छ्रे बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। देशभर १६५ शाखा, १२ विस्तारित काउन्टर, ८८ शाखारहित सेवा र १९९ एटीएम सञ्चालनमा रहेका छन्। बैंकले डिजिटल रूपान्तरणलाई प्राथमिकता दिँदै सेवा विस्तारलाई निरन्तरता दिएको जनाएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै