काठमाडौँ। एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्मा पक्राउ परेका छन्। ऋण दुरुपयोग गरेको आरोपमा नेपाल प्रहरीले अध्यक्ष शशिधर शर्मालाई पक्राउ गरेको हो।
केन्द्रीय अुनसन्धान ब्युराेकाे टाेलीले ५८ वर्षीय शर्मालाई काठमाडौं महानगरपालिका ९ पिङ्गलास्थानबाट पक्राउ गरेको हो।
एशियन भिलेज रिसोर्ट प्रालिले रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि प्रभु बैंक लिमिटेडबाट ४८ करोड रुपैयाँ कर्जा लिएको थियो।
तर, कर्जा प्रवाहका क्रममा बैंकको नाममा जग्गा दृष्टिबन्धक नगरी पछि दृष्टिबन्धक गर्ने कबुलियतनामा गरी कर्जा लिइएको तथा उक्त रकम कम्पनीका अध्यक्षसँग पारिवारिक सम्बन्ध भएका व्यक्तिहरू र आफ्नै समूहअन्तर्गतका अन्य ऋणी कम्पनीहरूको बक्यौता भुक्तानीमा प्रयोग गरिएको सीआईबीले जनाएको छ।
बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत उनीमाथि थप अनुसन्धान भइरहेको छ।

