काठमाडौँ । गरिमा विकास बैंकले सीएसआरका नाममा करोडौँ रुपैयाँ दुरुपयोग गरेको खुलासा भएको छ । बैंकका केहि संचालकको दबाब र बैंकका सीइओ माधव उपाध्यायको जोडबलमा सीएसआर नै नगनिने ठाउँमा रकम खर्च गरेर बैंकको सीएसआर फण्ड दुरुपयोग भएको खुलासा भएको हो ।
बैंकले रकम दुरुपयोग गरेको पुष्टी भएपछि राष्ट्र बैंकले अहिले सो रकम सीएसआरमा गणना नगर्न निर्देशन समेत दिईसकेको छ । राष्ट्र बैंकका अधिकारीले गरिमा बिकास बैंकले सीएसआरका नाममा देखाएको गलत रकम सो शीर्षकमा नराख्न निर्देशन दिएको पुष्टी गरेका छन् ।
विभिन्न बैंकले सीएसआरका नाममा रकम दुरुपयोग गरेको पाइएपछि राष्ट्र बैंकले सीएसआरको रकम खर्च गर्ने कार्यविधि नै परिवर्तन गरेको छ । सो कार्यविधिमा कडाई गर्दा गरिमा बिकास बैंकले गरेको मनपरी खर्चलाई पनि आधार लिएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
बैंक भने यस विषयमा बोल्न मानिरहेको छैन । बैंकका सूचना अधिकारी एवं डेपुटी सीइओ अनिल रेग्मीलाई यस विषयमा बुझ्न खोज्दा उनी सम्पर्कमै आएका छैनन् ।
गरिमा विकास बैंक पछिल्लो समय एकपछि अर्को विवादमा तानिँदै आएको छ । यो बैंकको करोडौं रुपैयाँ इमेज सहकारीमा फसेपछि अहिले बजारमा सोको चर्चा व्याप्त छ भने गरिमा विकास बैंकले गर्दा ऋणीको उठिबास लागेको भन्दै सार्वजनिक भएका भिडियोहरु सामाजिक संजालमा भाइरल छन् ।
गरिमा विकास बैंकले गरिरहेको बदमासीबारे बैंकिङ संसार डटकमले एकपछि अर्को खुलासा गरिरहेको छ र गरिरहनेछ ।