काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको नियुक्तिलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । ‘राष्ट्र सेवक नेपाली’ नामक समूहले दायर गरेको उजुरीमा पौडेललाई बैंक ऐनअनुसारको योग्यता नपुगी गभर्नरमा नियुक्त गरिएको दाबी गरिएको छ।
उजुरीमा भनिएको छ, राष्ट्र बैंक ऐन, २०५६ अनुसार गभर्नर नियुक्तिका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य व्यवस्थापन वा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु वा डेपुटी गभर्नरमध्येबाट सिफारिस हुनुपर्ने व्यवस्था छ । तर, पौडेलले पेस गरेको शैक्षिक प्रमाणपत्रमा सफ्टवेयर इन्जिनियरिङमा स्नातक, रिसोर्स एग्रिकल्चरमा स्नातकोत्तर तथा विद्यावारिधि उल्लेख गरिएको उजुरीमा उल्लेख छ । यस्तो अध्ययनले गभर्नर पदका लागि आवश्यक विषयगत विज्ञता पुष्टि नगर्ने आरोप लगाइएको छ ।
त्यसैगरी, पौडेलसँग सम्बन्धित क्षेत्रमा कार्यानुभवको समेत अभाव रहेको उजुरीकर्ताको दाबी छ । उनका अनुसार, उनले काठमाडौं विश्वविद्यालयमा उपप्राध्यापक (उपसचिवसरह) का रूपमा मात्रै कार्य गरेका छन्, जुन कार्यानुभव गभर्नर पदका लागि अपुरो ठहरिएको छ ।
उजुरीमा थप आरोप लगाउँदै भनिएको छ कि पौडेल नेपाली कांग्रेसको महासमिति सदस्य रहेका र उनले प्रतिनिधिसभा निर्वाचनमा चितवन-१ बाट उम्मेदवारी दिएर पराजय भोगेका थिए, जसले ऐनमा रहेको राजनीतिक निषेधको प्रावधानको उल्लंघन भएको देखिन्छ।
त्यस्तै, राष्ट्र बैंक ऐन अनुसार कुनै व्यक्ति वाणिज्य बैंक वा वित्तीय संस्थामा ५ प्रतिशत वा सोभन्दा बढी शेयर वा मतदान अधिकार भएको खण्डमा गभर्नर नियुक्ति अयोग्य हुने व्यवस्था छ । उजुरीमा पौडेल सानिमा बैंकका संस्थापक शेयरधनी रहेको दाबी गर्दै, यस्तो नियुक्तिले संस्थागत सुशासनमा गम्भीर प्रश्न उठ्ने उल्लेख गरिएको छ ।