काठमाडौं । नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकले जारी गरेका ऋणपत्रहरूको बाँडफाँड सम्पन्न भएको छ। दुबै बैंकको बाँडफाँट साउन ७ गते बुधबार गरिएको हो।
नेपाल एसबिआई बैंकले असार ३० देखि साउन १ गतेसम्म ३ अर्ब रुपैयाँको ‘७५ नेपाल एसबिआई डिबेञ्चर २०९०’ बिक्री खुला गरेको थियो । १० वर्षे अवधिको उक्त ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो। सर्वसाधारणका लागि छुट्याइएका मध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो।
त्यस्तै, सिद्धार्थ बैंकले असार २९ देखि ३२ गतेसम्म २ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘७. २५ प्रतिशत एसबिएल डिबेञ्चर २०९१’ बिक्री खुला गरेको थियो। यसमा पनि ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १० लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो। यसमध्ये ५ प्रतिशत अर्थात् ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको हो।
बिक्री प्रबन्धक तथा सिडिएस एण्ड क्लियरिङले सञ्चालन गरेको आईपीओ रिजल्टमार्फत् नतिजा हेर्न सकिने जनाएको छ ।