काठमाडौँ । राष्ट्रिय स्तरका विकास बैंकहरूमध्ये एक, सांग्रिला डेभलपमेन्ट बैंकमा मनपरीको हद नाघ्न थालेको छ। सीइओ सुयोग श्रेष्ठको नेतृत्वमा रहेको यो बैंकले प्रचलित कानुन विपरीतका कार्यहरू गर्दै हदैसम्मको मनपरी गरेको खुलासा भएको छ। ऋण तिर्न नसक्ने ग्राहकलाई पुनः ऋण थपेर निष्क्रिय कर्जा घटाउने होस् वा आवश्यक कागजात नै नपुगी ऋण प्रवाह गर्ने होस्, बैंकको बदमासीले सीमा नाघेको देखिन्छ।
सांग्रिला डेभलपमेन्ट बैंकमा यसरी मिचियो बाफिया, तर ‘गैरकानुनी’ काम गर्नेलाई भएन कारवाही (प्रमाणसहित)
बैंकिङ कसुर तथा सजाय ऐन अनुसार, ऋण तिर्नकै लागि थप ऋण दिन पाइँदैन। जस प्रयोजनका लागि ऋण लिइएको हो, सोही प्रयोजनमा मात्र लगानी गर्नुपर्छ। एउटा ऋण लिएर अर्को ऋण तिर्नु कानुन विपरीत कार्य हो। तर सांग्रिला यस मामलामा विकास बैंकहरूमध्ये नै नम्बर १ ठहरिने अवस्था देखिएको छ। बैंकले निष्क्रिय भइसकेका कर्जालाई पनि सक्रिय देखाउन थप ऋण दिएर किस्ता उठाउने धेरै घटना भएको बैंकका कर्मचारीहरूको दाबी छ।’एभरग्रिनिङ पूर्ण रूपमा गैरकानुनी काम हो, तर सांग्रिला यसमा निकै अगाडि देखिन्छ,’ एक अधिकारी भन्छन्, ‘विकास बैंकहरूमध्ये सबैभन्दा बढी एभरग्रिनिङ यही बैंकमा हुन्छ। तर डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षकै कारण राष्ट्र बैंक सांग्रिलासँग लचिलो बन्दै आएको छ, जसका कारण कारवाही हुन सकेको छैन।’
सांग्रिला डेभलपमेन्ट बैंकमा आगामी सीइओ पनि चार्टर्ड एकाउन्टेन्ट नै आउने !
सांग्रिलाले कतिपय ऋणमा आवश्यक कागजात नै नपुगी रकम प्रवाह गरेको पाइएको छ। करचुक्ताको प्रमाणपत्रसहितका महत्वपूर्ण कागजात अपुग हुँदाहुँदै पनि ऋण प्रवाह गरिएको कुरा स्वयम् बैंकको आन्तरिक लेखापरीक्षणमा उल्लेख छ। राष्ट्र बैंकको इन्सपेक्सनका क्रममा पनि यस्तो कैफियत भेटिएको बैंकका अधिकारीहरूको भनाइ छ।तर राष्ट्र बैंकको आँखा छल्न बैंकले कतिपय फाइल नै लुकाएर नियामकलाई गुमराहमा पारेको र बदमासीका धेरै घटना देखिँदा पनि राष्ट्र बैंकले आँखा चिम्लेको आरोप बैंकभित्रकै स्रोतले लगाएका छन्।’बैंकले त लिलामी प्रक्रियाका लागि पत्रिकामा सूचना प्रकाशित भइसकेका ऋणीलाई समेत सक्रिय कर्जामा गणना गरेको छ, र त्यसको प्रोभिजनसमेत गरेको छैन,’ एक कर्मचारी भन्छन्, ‘लिलामी प्रक्रिया सुरु भएपछि १०० प्रतिशत प्रोभिजन गर्नुपर्ने बाध्यकारी व्यवस्था बेवास्ता गरिएको छ। यसले बैंकको वित्तीय विवरणमै कैफियत देखाउँछ, तर पनि सांग्रिलामाथि कुनै कारवाही भएको छैन।’उनको भनाइमा, ‘डेभलपमेन्ट बैंकर्स एसोसिएसनको नेता भएकै कारण सुयोग सरप्रति राष्ट्र बैंकको दृष्टि अत्यन्त नरम छ। आँखै अगाडिको बदमासी पनि अनदेखा गरिएको छ।’
सांग्रीला डेभलपमेन्ट बैंककी कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला, हाकिमले टर्चर दिएको आरोप !
बैंकभित्र करियरको सम्भावना नदेखिएको, विदामा मनपरी गरिएको, र कुनै पनि बेला कानुनी समस्यामा पर्न सकिने गरी काम भइरहेका कारण राम्रा कर्मचारीहरू भकाभक बैंक छोडिरहेका छन्। केही समयअघि तीजको दिन समेत बिदा नदिएको भन्दै कर्मचारीहरूले बैंकिङ क्षेत्रमा नै फोन गरेर गुनासो गरेका थिए। दशैंमा समेत बिदा नपाएको कारण केही कर्मचारीले बैंक छोड्ने निर्णय गरेका थिए।यसो त, बैंककै एक महिला कर्मचारीले बैंकले दिएको मानसिक यातनाका कारण आत्महत्याको बाटो रोजेको प्रकरण पनि केही समयअघि सार्वजनिक भएको थियो।कसैकसैले भने बैंकबाट पाएका सुविधा, ऋण र अन्य लाभका कारण बस्न बाध्य भएको बताएका छन्। ‘ऋण छ, जागिर छोडेर के गर्नु?’ बैंकको एचआर विभागमै कार्यरत एक कर्मचारी भन्छन्, ‘नत्र त सांग्रिलामा बस्न मन छैन। अब अर्को सक्षम नेतृत्व आउने कुरा छ । त्यसो हो भने मात्रै केहि सुधार होला, नत्र भविष्य अँध्यारो छ।’
सांग्रिला डेभलपमेन्ट बैंकमा भद्रगोल : बर्दीबासमा ऋण काण्ड, गोरखामा भल्टबाट पैसा गायब !
सीइओ सुयोग श्रेष्ठ आएपछि बैंक निरन्तर विवादमा परिरहेको छ। कहिले पत्रकारमाथि दुर्व्यवहार, कहिले भल्टबाट पैसा हराएको, कहिले प्रोडक्टको नाम चोरेको प्रकरण, कहिले बैंककै नाम गलत लेखेको प्रकरण—सांग्रिला हरेक पटक नयाँ विवादमा तानिँदै आएको छ। प्रक्रिया पूरा नगरी ऋण प्रवाह गरेको भन्दै बर्दीबास शाखाका मेनेजरमाथि कारवाही भएको घटना सेलाउन नपाउँदै, नयाँ–नयाँ काण्ड सार्वजनिक भइरहेका छन्। बाफिया ऐन उल्लंघन गर्दै संस्थापक सेयर धितो राखिएको प्रकरण पनि केही समयअघि विवादको विषय बनेको थियो। बैंककै पूर्व सीइओ कालोसूचीमा परेको प्रकरणले बैंकलाई थप विवादमा तानेको नै छ ।
अधिकांश काण्डमा बैंकको स्वीकारोक्ति
यता बैंकले पनि पछिल्ला काण्डहरूबारे कमजोरी स्वीकार गरेको छ। बैंकका सूचना अधिकारीदेखि एचआर विभागका कर्मचारीसम्मले नियम मिचेर ऋण दिइएकाले सम्बन्धित मेनेजरमाथि कारवाही गरिएको, गोरखास्थित भल्टबाट रकम हराएको, प्रोडक्ट थीम चोरी भएपछि संलग्न कर्मचारी निकालेको, पत्रकार दुर्व्यवहार प्रकरणमा गल्ती भएकोजस्ता घटनामा बैंकले कमजोरी स्वीकार गरेको छ।