काठमाडौँ । बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडी रकम लुटेको आरोपमा २९ जना पक्राउ परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरूलाई करिब ९२ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।
बाढीका कारण बैंकको सेफ बगेपछि त्यसलाई फोडेर रकम निकालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालका अनुसार घटनासम्बन्धी विस्तृत विवरणसहितको विज्ञप्ति जारी गर्ने तयारी भइरहेको छ ।
यसअघि रास्वपा सांसद आशिका तामाङले समेत बाढीले बगाएको बैंकको सेफ र त्यसबाट भएको रकम लुटपाटको विषय उठाएकी थिइन् ।
प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।




