काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक मौद्रिक नीति समीक्षाको तयारी तीव्र बनाएको छ। नियामकीय प्रावधानअनुसार त्रैमासिक समीक्षा सम्बन्धित त्रैमास समाप्त भएको ४५ दिनभित्र सार्वजनिक गर्नुपर्नेछ, जसअनुसार समीक्षा जेठ १५ गतेभित्र सार्वजनिक गरिनु पर्नेछ।
हाल केन्द्रीय बैंक आन्तरिक छलफल तथा नौ महिनासम्मको आर्थिक तथ्यांकको गहिरो विश्लेषणमा जुटेको छ । हाल बैंकिङ प्रणालीमा तरलता प्रशस्त भए पनि कर्जा प्रवाह उत्साहजनक हुन नसकेको अवस्था छ। यही पृष्ठभूमिमा समीक्षाले अर्थतन्त्रमा गतिशीलता ल्याउने चुनौती सामना गर्नुपर्नेछ।
नयाँ गभर्नरको आगमन, तर समीक्षा अपेक्षाकृत स्थिर
केन्द्रीय बैंकले हालै नयाँ गभर्नर पाएको भए पनि, तेस्रो त्रैमासिक समीक्षा ठूलो नीतिगत परिवर्तनको दस्तावेज नहुने संकेत देखिएको छ । राष्ट्र बैंकका एक अधिकारीका अनुसार, ‘तेस्रो त्रैमासिक समीक्षा प्राविधिक प्रकृतिको हुने भएकाले महत्वपूर्ण नीतिगत परिवर्तन सम्भावना न्यून हुन्छ।’
समीक्षा राष्ट्र बैंकको रिसर्च विभागद्वारा तयार पारिएका तथ्यांकमा आधारित रहनेछ, र ठूलो परिवर्तन भएमा आगामी मौद्रिक नीतिमा समावेश गरिनेछ, जुन साउनदेखि लागु हुनेछ । यद्यपि, गभर्नरको स्वविवेकमा रहेर तेस्रो त्रैमासमै केही परिवर्तन गर्न चाहिएको खण्डमा कानुनी वा संस्थागत अवरोध नहुने राष्ट्र बैंक स्रोतहरूको भनाइ छ। तर समय सीमित भएकाले तत्काल कुनै ठूला निर्णय हुने सम्भावना न्यून देखिन्छ।
पछिल्लो आर्थिक सूचकांकहरू
मुद्रास्फीति: ३.३९% (वार्षिक विन्दुगत आधार)
आयात वृद्धि: १२.२%
निर्यात वृद्धि: ६५.२%
विप्रेषण वृद्धि: १०% (नेरूमा), ७.३% (अमेरिकी डलरमा)
शोधनान्तर बचत: ३४६ अर्ब २३ करोड रुपैयाँ
विदेशी विनिमय सञ्चिति: १७ अर्ब ६३ करोड अमेरिकी डलर
सरकारी खर्च: ९९८ अर्ब ५२ करोड रुपैयाँ
राजस्व संकलन: ८३१ अर्ब ४० करोड रुपैयाँ
विस्तृत मुद्राप्रदाय वृद्धि: ६.२% (वार्षिक रूपमा ११.६%)
निक्षेप संकलन वृद्धि: ५.७% (वार्षिक ११.५%)
निजी क्षेत्रमा कर्जा प्रवाह वृद्धि: ७.१% (वार्षिक ८.३%)