DISH HOME

नवनियुक्त गभर्नरको नेतृत्वमा डेपुटी गभर्नरहरूको जिम्मेवारी हेरफेर, कुन विभागको जिम्मा कसलाई ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले डेपुटी गभर्नरहरूको जिम्मेवारीमा केही हेरफेर गरेका छन्। यसअघि कायम मुकायम गभर्नर रहेकी डा. नीलम ढुंगाना तिम्सिना र बम बहादुर मिश्रको जिम्मेवारीमा सामान्य परिवर्तन गरेका हुन् ।

गभर्नर पौडेलले डा. नीलम ढुंगानालाई बैंक तथा वित्तीय संस्था नियमन विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, लघुवित्त संस्था सुपरिवेक्षण विभाग, गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग, प्रदेशस्थित कार्यालयहरू, मुद्रा व्यवस्थापन, संस्थागत योजना तथा जोखिम व्यवस्थापन, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग र सूचना प्रविधि विभागको जिम्मेवारी तोकिदिएका छन्।

त्यस्तै, बम बहादुर मिश्रको जिम्मेवारीमा आर्थिक अनुसन्धान विभाग, मौद्रिक व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग, बैंकिङ विभाग, भुक्तानी प्रणाली विभाग, मानव संशाधन विभाग र वित्त व्यवस्थापन विभाग परेको छ।

यसअघि, निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको पालामा पनि डेपुटी गभर्नरहरू ढुंगाना र मिश्रको जिम्मेवारीमा हालका विभागहरूको नै जिम्मेवारी रहेको थियो।

ढुंगाना नेपाल राष्ट्र बैंकमा २०५४ सालदेखि कार्यरत छिन् र उनी नेपाल राष्ट्र बैंकको इतिहासमा पहिलो महिला डेपुटी गभर्नरको रूपमा नियुक्त भएकी हुन्। बम बहादुर मिश्रले पनि नेपाल राष्ट्र बैंकमा विभिन्न विभागमा कार्य गर्दै आएका छन्। उनी वित्तीय संस्था नियमन, विदेशी विनिमय व्यवस्थापन र लघुवित्त सुपरिवेक्षण जस्ता विभागमा अनुभव राख्छन्।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै