काठमाडौँ। सिन्धु विकास बैंक लिमिटेडले विद्यालयलाई कलर टेलिभिजन हस्तान्तरण गरेको छ। सामुदायिक विद्यालयमा डिजिटल शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले सिन्धु विकास बैंकले सिन्धुपाल्चोक जिल्लास्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयलाई कलर टेलिभिजन हस्तान्तरण गरेको हो ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत प्रदान गरिएको उक्त टेलिभिजनले विद्यालयमा प्रविधिमैत्री शिक्षण-सिकाइ वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। आयोजित हस्तान्तरण कार्यक्रममा सिन्धु विकास बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (ACEO) प्रमोद न्यौपानेले विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठलाई टेलिभिजन हस्तान्तरण गरेका थिए।
कार्यक्रममा मेलम्ची शाखाका शाखा प्रबन्धक सीताराम दुलालको समेत उपस्थिति थियो।
कार्यक्रममा बोल्दै ACEO प्रमोद न्यौपानेले गुणस्तरीय शिक्षा प्रवर्द्धनमा बैंक सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै सामुदायिक विद्यालयमा डिजिटल शिक्षाको विकासका लागि यस्ता सहयोगले सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठले बैंकले प्रदान गरेको सहयोगप्रति आभार व्यक्त गर्दै उक्त सामग्रीले कक्षाकोठामा डिजिटल माध्यमबाट शिक्षण कार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सिन्धु विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा सामाजिक विकासका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै समाजप्रति आफ्नो दायित्व निर्वाह गर्दै आएको छ।


