नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई एक अर्ब रुपैयाँसम्म सापटी दिने, बचतकर्ताले पाउने भए निक्षेप फिर्ता !

काठमाडौँ। बैंकमा राखेको आफ्नो बचत फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ताको बचत फिर्ता गर्न नेपाल राष्ट्र बैंकले कर्णालीलाई एक अर्ब रुपैयाँसम्म सापटी दिने भएको छ ।

‘अन्तिम ऋणदाता सुविधा’ अन्तर्गत राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई यस्तो सुविधा दिने भएको हो ।

यस सुविधामार्फत बैंकले बचतकर्ताको निक्षेप फिर्ता गर्न र आवश्यक तरलता व्यवस्थापन गर्न सक्ने अपेक्षा गरिएको छ।

पछिल्लो समय बैंकबाट बचत रकम झिक्न नपाएको भन्दै बचतकर्ताले आन्दोलन गर्दै आएका थिए। बचतकर्ताको बढ्दो दबाब र बैंकमा देखिएको तरलता संकटलाई मध्यनजर गर्दै राष्ट्र बैंकले हस्तक्षेपकारी कदम चालेको हो।

राष्ट्र बैंकको यो निर्णयपछि बचतकर्ताको रकम फिर्ता प्रक्रिया सहज हुने विश्वास गरिएको छ। यद्यपि बैंकको दीर्घकालीन वित्तीय अवस्था सुधारका लागि थप व्यवस्थापकीय तथा संरचनात्मक उपाय आवश्यक पर्ने देखिएको छ।

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको स्थायित्व कायम राख्न र सर्वसाधारणको निक्षेपप्रतिको विश्वास जोगाउन आवश्यक परेका बेला बैंक तथा वित्तीय संस्थालाई ‘अन्तिम ऋणदाता सुविधा’ उपलब्ध गराउने व्यवस्था रहेको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै