काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा उच्च व्यवस्थापकीय पदमा नियुक्ति वा मनोनयन प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र जिम्मेवार बनाउन नयाँ व्यवस्था लागू गरेको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन संशोधन गर्दै यस्ता पदहरूमा नियुक्ति वा मनोनयन गर्दा सम्बन्धित व्यक्तिबाट १० महत्वपूर्ण विवरण अनिवार्य रूपमा संकलन गर्नुपर्ने प्रावधान समावेश गरेको हो।
यसअघि बैंक तथा वित्तीय संस्थाले सञ्चालक, सीईओ तथा उच्च व्यवस्थापन तहका पदाधिकारी नियुक्त गर्दा विस्तृत व्यक्तिगत, व्यावसायिक तथा नैतिक पृष्ठभूमिसम्बन्धी विवरण अनिवार्य रूपमा संकलन गर्नुपर्ने स्पष्ट व्यवस्था थिएन। नयाँ व्यवस्थासँगै अब यस्ता पदमा नियुक्त हुने व्यक्तिको योग्यता, अनुभव, वित्तीय अवस्था, कानुनी पृष्ठभूमि तथा व्यावसायिक आचरणबारे विस्तृत जानकारी लिनुपर्ने भएको छ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको नेतृत्व तहमा रहने व्यक्तिहरूको क्षमता, इमान्दारिता, पारदर्शिता तथा सुशासनप्रतिको प्रतिबद्धता सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको हो।
पछिल्ला वर्षहरूमा बैंकिङ क्षेत्रमा सुशासन, जोखिम व्यवस्थापन तथा उत्तरदायित्वका विषयलाई प्राथमिकतामा राख्दै नियामक निकायले विभिन्न सुधारात्मक कदमहरू अघि बढाउँदै आएको छ।

