काठमाडौँ। बैंकिङ प्रणालीमा एकैदिन ११ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असोज ३० गते बैंक तथा वित्तीय संस्थाहरुमा एकैदिन ११ अर्ब रुपैयाँ निक्षेप थपिएको हो ।
बैंकहरूको निक्षेप एकैदिन ११ अर्बले बढेर ७४ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । असोज २९ गतेसम्म बैंक तथा वित्तीय संस्थामा ७४ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।
उक्त दिन वाणिज्य बैंकहरुमा पनि ११ अर्ब रुपैयाँनै निक्षेप थपिएको छ भने अन्य वित्तीय क्षेत्रमा ७ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो दिनसम्म ६७ खर्ब १ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा निक्षेप बढेर ६७ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैंकिङ प्रणालीमा ११ अर्ब निक्षेप थपिँदा ६१० अर्ब रुपैयाँ कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ५६ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ५० खर्ब १९ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ६ खर्ब २४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
समिक्षा अवधिमा बैंकहरूको अन्तर बैंक कारोबारको ब्याजदर २.७५ प्रतिशत रहेको छ भने सिडी रेसियो ७४.७० प्रतिशतको बिन्दुमा झरेको छ ।


