काठमाडौँ । नेपालका डिजिटल वालेटहरुले कुन हदसम्मको लापरवाही गर्छन् भन्ने खुलासा भएको छ । यतिसम्मकि वालेटहरुले आफ्नो सिष्टममा अप्रयोग गर्ने एन्टीभाइरससमेत नवीकरण नगर्ने गरेको पाइएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भुक्तानी प्रणाली निरीक्षण प्रतिवेदन २०२४-२५ ले नेपालका केही वालेट कम्पनीहरूले साइबर सुरक्षामा गम्भीर लापरवाही गरेको खुलासा गरेको हो ।
राष्ट्र बैंकको प्रतिवेदन अनुसार केही कम्पनीहरूले आफ्नो प्रणालीमा प्रयोग हुने एन्टिभाइरस सफ्टवेयर समयमै नवीकरण नगरेको, सुरक्षा कमजोरी परीक्षण नगरेको तथा लग-इन सेसन समयमै समाप्त नहुने समस्या रहेको पाइएको छ । यस्ता कमजोरीका कारण वालेट प्रणाली साइबर आक्रमणको उच्च जोखिममा रहेको राष्ट्र बैंकको निष्कर्ष छ।
नेपालमा वालेट प्रयोगकर्ता २ करोड ६७ लाखभन्दा बढी पुगिसकेका छन् । कारोबार तीव्र रूपमा बढिरहे पनि सुरक्षा मापदण्डमा पर्याप्त लगानी नगर्दा ग्राहकको व्यक्तिगत विवरण र रकम जोखिममा पर्न सक्ने भन्दै राष्ट्र बैंकले अब कडा अनुगमन गर्ने जनाएको छ ।
यसैबीच राष्ट्र बैंकले नियम उल्लंघन गर्ने एक दर्जनभन्दा बढी वालेट तथा भुक्तानी सेवा कम्पनीमाथि कारबाही गरेको छ । राष्ट्र बैंकले पे-वेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेसको लाइसेन्स २०८२ असार ५ गते खारेज गरिएको जनाएको छ भने नेपाल पे-टाइम प्रालिको लाइसेन्स नवीकरणसमेत रोकेको बताएको छ ।

