एनएमबि सरल बचत फण्ड-इले गर्यो ५.२५ प्रतिशत नगद प्रतिफल घोषणा

काठमाडौँ। एनएमबि सरल बचत फण्ड-इले इकाईधनीलाई आकर्षक प्रतिफल वितरण गर्ने भएको छ।

एनएमबि म्युचुअल फण्ड अन्तर्गत यस कम्पनी योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनएमबि सरल बचत फण्ड-इले आर्थिक वर्ष २०८२-८३ को लागि २०८३ असारमसान्तमा कायम इकाई पुँजी ४ अर्ब ८१ करोड १७  लाख ७५ हजार ९ सय अठहत्तर रुपैयाँ ४० पैसाको ५.२५ प्रतिशत (कर सहित) को दरले हुन आउने पच्चीस करोड अठसठ्ठी लाख सत्र हजार एक सय अठासी रुपैयाँ सतासी पैसा बराबर नगद प्रतिफल वितरण गर्ने निर्णय भएको छ ।

उक्त प्रतिफलको लागि मिति २०८३ श्रावण २१ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका इकाईधनीहरू मात्र योग्य हुने छन् ।

प्रतिफल वितरण प्रक्रिया पारदर्शी, व्यवस्थित र नियामकीय व्यवस्थाअनुसार सम्पन्न गरिने कम्पनीले जनाएको छ। साथै, लाभांश पुनर्लगानी (Dividend Reinvestment Plan-DRIP) रोज्ने इकाईधनीहरूले प्राप्त प्रतिफलबाट थप इकाई खरिद गरी आफ्नो लगानी विस्तार गर्न सक्ने व्यवस्था गरिएको छ। पुनर्लगानीमा सहभागी नहुने इकाईधनीहरूको प्रतिफल कर कट्टीपश्चात सम्बन्धित बैंक खातामा जम्मा गरिनेछ।

एनएमबि क्यापिटल लिमिटेडले दीर्घकालीन लगानी व्यवस्थापन, जोखिम नियन्त्रण तथा स्थिर प्रतिफलमार्फत लगानीकर्ताको विश्वासलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ। कम्पनीले आगामी दिनमा पनि बजारको अवस्था, लगानी अवसर तथा लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै प्रभावकारी फण्ड व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ।

लगानीकर्तालाई आफ्नो बैंक विवरण तथा व्यक्तिगत अभिलेख अद्यावधिक राख्न अनुरोध गर्दै कम्पनीले प्रतिफल वितरणसम्बन्धी थप जानकारीका लागि आफ्नो कार्यालय वा आधिकारिक माध्यममार्फत सम्पर्क गर्न आग्रह गरेको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्