काठमाडौँ । मंगलबार अर्थमन्त्रीले बाणिज्य बैंकका सिइओहरुलाई छलफलका लागि बोलाएका थिए । निर्धारित समयमा १७ बाणिज्य बैंकका सिइओ सिंहदरबार पुगे । मात्र तीन बैंकका सिइओ त्यहाँ पुगेनन् । राष्ट्रिय बाणिज्य बैंकका सीइओ देवेन्द्र रमण खनाल, कृषि बिकास बैंकका सीइओ गोबिन्द गुरुङ र प्रभु बैंकका सिइओ सुमन शर्मा बैठकमा सहभागी भएनन् । बैठकमा सहभागी नभएका ३ जनामध्ये प्रभु बैंकका सिइओ सिंहदरबारको गेटमा पुगेर फर्किएको खुलासा भएको छ ।
सुमन शर्मालाई गेटमा प्रहरीले रोक्नुको कारण उनको गाडी नम्बर गेटमा गलत टिपाइएको रहेछ । सो दिन उनको अदालतको अवहेलनासम्बन्धि मुद्धाको सर्वोच्च अदालतमा पेशी भएकाले उनी केहि ढिलो पुगेका थिए । उनलाई बैठकमा बोलाउन संयोजन गरेकाहरु पनि अर्थमन्त्रीसँगै बैठकमा रहेकाले उनले थप संयोजन पनि गर्न पाएनन् । प्रहरीले उनी चढेको गाडीको नम्बर टिपाइएको विवरणमा नभएको भन्दै उनलाई भित्र जान दिएन । यसै पनि ढिलोगरी पुगेका उनी, त्यसपछि कार्यालय नै फर्के ।
बैठक सकिएपछि अन्य बैंकका सीइओहरुले उनलाई किन नआएको भनेर सम्पर्क गरे । उनले आफुलाई गेटमै रोकिएको र आफु कार्यालय फर्केको बताएको एक सीइओले बैंकिङ संसारलाई बताए । यस विषयमा शर्मालाई सम्पर्क गर्न खोज्दा मोबाइलमा सम्पर्क नै भएन । यद्यपी आफुलाई प्रहरीले छिर्न नदिएको कुरा उनले थुप्रै सीइओलाई भनिसकेका छन् ।


