काठमाडौं । प्रभु बैंक लिमिटेडले बेलायतको प्रतिष्ठित वित्तीय पत्रिका ‘द बैंकर (The Banker)’ ले प्रदान गर्ने ‘बैंक अफ द इयर (Bank of the Year) २०२३ – नेपाल’ अवार्ड प्राप्त गरेको छ। बैंकले आफ्नो इतिहासमै पहिलो पटक यो प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान हात पारेको हो।
बेलायतको लन्डनमा आयोजित विशेष समारोहमा बैंकका अध्यक्ष लीलाप्रसाद सिटौला र प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन ले उक्त अवार्ड ग्रहण गरेका थिए। समारोहमा विश्वका १२० भन्दा बढी मुलुकका ३५० भन्दा बढी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ), प्रमुख वित्तीय अधिकृत (सीएफओ) तथा वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो।
सन् २००० देखि प्रदान हुँदै आएको ‘द बैंकर बैंक अफ द इयर’ अवार्ड विश्व बैंकिङ क्षेत्रकै सबैभन्दा प्रतिष्ठित सम्मानमध्ये एक मानिन्छ। ‘द बैंकर’ ले प्रत्येक वर्ष १२० भन्दा बढी देशका एक हजारभन्दा बढी बैंकमध्ये उत्कृष्ट प्रदर्शन गर्ने एक–एक बैंकलाई यो सम्मान प्रदान गर्ने गर्दछ।
विश्वव्यापी आर्थिक मन्दीको चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि प्रभु बैंकले वित्तीय सेवा पहुँच विस्तार, प्रतिस्पर्धी व्यावसायिक वातावरण निर्माण तथा उत्कृष्ट वित्तीय प्रदर्शन गरेको मूल्याङ्कनका आधारमा यो सम्मान प्राप्त गरेको हो।
अवार्ड ग्रहणपछि अध्यक्ष लीलाप्रसाद सिटौला ले यो उपलब्धि नेपालको बैंकिङ प्रणालीका लागि अर्को महत्वपूर्ण कोशेढुङ्गा भएको बताए। उनले वर्तमान आर्थिक परिस्थितिमा प्राप्त यो अन्तर्राष्ट्रिय मान्यताले बैंकिङ क्षेत्रप्रति विश्वास अझ मजबुत बनाएको र यसले ग्राहक तथा शेयरधनीलाई अझ राम्रो प्रतिफल दिन प्रेरित गर्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, सीईओ अशोक शेरचन ले बैंकको सफलता व्यवस्थापन, कर्मचारी, शेयरधनी, ग्राहक तथा शुभेच्छुकहरूको सामूहिक मेहनतको परिणाम भएको बताए। उनले यो उपलब्धि केवल प्रभु बैंकको मात्र नभई सम्पूर्ण नेपाली बैंकिङ क्षेत्रको सफलता भएको उल्लेख गर्दै आगामी दिनमा पनि बैंकलाई अझ प्रभावकारी र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
हाल प्रभु बैंकले देशभर ३०० भन्दा बढी शाखा, ७१ वटा एक्सटेन्सन काउन्टर र ३१० वटा एटीएम मार्फत ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। वि.सं. २०७९ मा सेन्चुरी कमर्सियल बैंकसँग मर्जर सम्पन्न गरेपछि प्रभु बैंक नेपालको अग्रणी वाणिज्य बैंकमध्ये एकका रूपमा स्थापित भएको छ। हाल बैंकको चुक्ता पुँजी रु. २३ अर्ब, कुल सम्पत्ति करिब रु. ३३३ अर्ब, निक्षेप रु. २२० अर्बभन्दा बढी तथा कर्जा लगानी रु. २५३ अर्ब पुगेको छ।


