लघुवित्त पीडितहरूको सामुहिक अनशन बुधबार पनि जारी

काठमाडौँ। लघुवित्त पीडितहरूले काठमाडौँको माईतीघर मण्डलामा बुधबार पनि  सामुहिक आमरण अनशन जारी राखेका छन् । लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिको नेतृत्वमा मंगलबारदेखि शुरु भएको उक्त अनशन बुधबार दोस्रो दिन पनि जारी रहेको छ ।

आन्दोलनकारीहरूले सामाजिक न्याय र वित्तीय शोषणको अन्त्य हुनुपर्ने भन्दै सरकारसँग विभिन्न मागहरू अघि सारेका छन् । उनीहरूले सर्वोच्च अदालतको परमादेश बमोजिम लघुवित्त पीडितका तीनबुँदे असहमतिसहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।

समितिले जारी गरेको मागपत्रमा विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी संहितामा आधारित वित्तीय प्रणाली लागू गर्नुपर्ने, तथा गरिब, मजदुर, सुकुम्बासी र किसानलाई ब्याज छुटसहित नि:शुल्क ऋण प्रदान गर्नुपर्ने उल्लेख छ । त्यसैगरी, नागरिकको आवश्यकता र क्षमताका आधारमा रोजगारी तथा उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने माग समेत पीडितहरूले राखेका छन् ।

आन्दोलनरत पक्षले निजी बैंक तथा वित्तीय संस्थाहरूको अन्त्य गरी मुलुकमा समाजवादी अर्थ व्यवस्था कायम गर्नुपर्ने दीर्घकालीन माग समेत प्रश्तुत गरेको छ ।

माग पूरा नभएसम्म आन्दोलन र अनशनलाई निरन्तरता दिने संघर्ष समितिले जनाएको छ ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै