काठमाडौं । एनएमबी बैंकले नेपाली बैंकिङ इतिहासमै पहिलो पटक ‘द बैंक अफ द इयर एसिया २०२१ (The Bank of the Year Asia 2021)’ अवार्ड जित्दै ऐतिहासिक सफलता हासिल गरेको छ। बेलायतको लन्डनस्थित प्रतिष्ठित द बैंकर (The Banker) म्यागजिन ले प्रदान गर्ने उक्त अवार्डमा एनएमबी बैंकले चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापानजस्ता मुलुकका अग्रणी बैंकलाई पछि पार्दै एसियाकै उत्कृष्ट बैंकको उपाधि जितेको हो।
यससँगै एनएमबी बैंकले ‘द बैंक अफ द इयर नेपाल २०२१’ अवार्ड पनि प्राप्त गरेको छ। बैंकले पाँच वर्षको अवधिमा चौथोपटक नेपालतर्फको यो प्रतिष्ठित उपाधि जित्न सफल भएको हो।
अवार्ड घोषणा भएपछि आयोजित कार्यक्रममा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बैंकका अध्यक्ष, सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सम्मान गर्दै नेपाली बैंकिङ क्षेत्रकै प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा उकासेको भन्दै बधाई दिएका थिए। उनले एनएमबी बैंकको सफलता सम्पूर्ण नेपाली बैंकिङ उद्योगका लागि गौरवको विषय भएको बताएका थिए।
सन् २००० देखि प्रदान हुँदै आएको ‘द बैंक अफ द इयर’ अवार्ड विश्वका विभिन्न देश तथा एसिया, युरोप, अमेरिका, मध्यपूर्व र अफ्रिकालगायत क्षेत्रका उत्कृष्ट बैंकलाई प्रदान गरिन्छ। बैंकको वित्तीय प्रदर्शन, दीर्घकालीन रणनीति, प्रविधिको प्रयोग, डिजिटल रूपान्तरण, नवीन सेवा, दिगो बैंकिङ अभ्यास तथा चुनौतीपूर्ण परिस्थितिमा देखाएको क्षमता जस्ता आधारमा विजेता छनोट गरिन्छ।
एनएमबी बैंकले दिगो बैंकिङ (Sustainable Banking), डिजिटल रूपान्तरण तथा उच्चस्तरीय कर्पोरेट सुशासन का कारण यो सम्मान प्राप्त गरेको जनाएको छ। बैंकले कोभिड–१९ महामारीका बेला पनि आफ्ना ग्राहकलाई डिजिटल ‘ओम्नी–च्यानल’ प्लेटफर्ममार्फत अविरल सेवा उपलब्ध गराउनुका साथै समुदायमा विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गरेको थियो।
बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुनिल केसी ले यो उपलब्धि कर्मचारीको समर्पण, ग्राहकको विश्वास, नियामक निकाय, सञ्चालक समिति तथा सम्पूर्ण सरोकारवालाको सहयोगको परिणाम भएको बताएका थिए।
हाल एनएमबी बैंकले परम्परागत बैंकिङसँगै डिजिटल बैंकिङ र दिगो वित्तीय अभ्यासलाई प्राथमिकतामा राख्दै ऊर्जा क्षेत्रमा स्थानीय मुद्रामा पहिलो ऊर्जा ऋणपत्र जारी गर्ने, पहिलो वैदेशिक ऋण सम्झौता गर्ने, ओम्नी च्यानल बैंकिङ, भिडियो केवाईसी (Video KYC) तथा एनएमबी सपाटी जस्ता डिजिटल कर्जा सेवा सञ्चालन गर्दै आएको छ। बैंक Global Alliance for Banking on Values (GABV) र Partnership for Carbon Accounting Financials (PCAF) को सदस्यसमेत हो। देशभर २०१ शाखामार्फत बैंकले आफ्ना सेवा विस्तार गर्दै आएको छ।


