काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लङ्घन गरेको ठहर गर्दै मितेरी डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई सचेत गराएको छ।
बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक सुपरिवेक्षण प्रतिवेदन अनुसार बैंकले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८० विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर (Interest Spread Rate) कायम गरेको पाइएको हो।
राष्ट्र बैंकका अनुसार बैंकले एकीकृत निर्देशन, २०८० को इ.प्रा. निर्देशन नं. १५ को बुँदा (४) मा उल्लेखित व्यवस्थाविपरीत तोकिएको ४.६० प्रतिशतभन्दा बढी ब्याजदर अन्तर कायम गरेको थियो। यस्तो कार्य नियामकीय व्यवस्था विपरीत भएको निष्कर्षसहित राष्ट्र बैंकले कारबाही गरेको जनाएको छ।
उक्त कमजोरीका आधारमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको प्रतिवेदनमा उल्लेख छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई प्रचलित कानुन, एकीकृत निर्देशन तथा नियामकीय व्यवस्थाको पूर्ण पालना गर्न निर्देशन दिँदै यस्ता कमजोरी दोहोरिए थप कडा कारबाही हुन सक्ने संकेत गरेको छ।



