काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लङ्घन गरेको ठहर गर्दै सिन्धु विकास बैंक लिमिटेड र सलापा विकास बैंक लिमिटेड माथि कारबाही गरेको छ। बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक सुपरिवेक्षण प्रतिवेदनअनुसार दुवै विकास बैंकले फरक–फरक प्रकृतिका नियामकीय कमजोरी गरेको पाइएको हो।
राष्ट्र बैंकका अनुसार सिन्धु विकास बैंक लिमिटेड ले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, कम्पनी ऐन, २०६३ तथा एकीकृत निर्देशन, २०८० विपरीत आफ्नो वास्तविक तथा नाफा–नोक्सान हिसाबको विवरण समयमै पेश नगरेको थियो। यसका कारण बैंकको वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ।
यही आधारमा नेपाल राष्ट्र बैंकले बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समिति सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० बमोजिम सचेत गराएको छ।
यस्तै, सलापा विकास बैंक लिमिटेड ले एकीकृत निर्देशन, २०८० अन्तर्गत तोकिएको अधिकतम ब्याजदर अन्तर (Interest Spread Rate) ४.६० प्रतिशतभन्दा बढी कायम गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ। बैंकले नियामकीय सीमाभन्दा बढी ब्याजदर अन्तर कायम गरी निर्देशन उल्लङ्घन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
यसै आधारमा राष्ट्र बैंकले सलापा विकास बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई पनि सचेत गराएको छ।
नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई प्रचलित कानुन, नियामकीय निर्देशन तथा सुशासनसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिँदै यस्ता कमजोरी दोहोरिए थप कडा कारबाही हुन सक्ने संकेत गरेको छ।




