MAX TIGER

ग्लोबल आइएमई बैंकले १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, अध्यक्ष र सिइओले गरे भूमिपूजा !

काठमाडौँ। ग्लोबल आइएमई बैंकले १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ। शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक जगको पूजा (भूमिपूजा) गरेर भवन निर्माणको औपचारिक सुरुआत गरेका हुन्।

करिब एक लाख ४६ हजार वर्गफिटमा फैलिने यो भवन कुल १२ तलाको हुनेछ। जसमा गाडी पार्किङका लागि दुई तलाको भूमिगत बेसमेन्ट, एउटा ग्राउन्ड फ्लोर र माथि नौ वटा तला रहनेछन्। वातावरणमैत्री पूर्वाधार, आधुनिक वास्तुकला र अत्याधुनिक प्रविधि समेटेर बैंकले यसलाई उपत्यकाकै नमुना व्यावसायिक भवनका रूपमा उभ्याउन खोजेको छ।

भूमिपूजापछि बोल्दै बैंकका अध्यक्ष ढकालले यो भवन वाणिज्य बैंकहरुका कर्पोरेट कार्यालयमध्य सबैभन्दा आधुनिक र ठूलो संरचना हुने बताए। नयाँ भवन अत्याधुनिक तथा सुविधासम्पन्न हुनुका साथै काठमाडौँ उपत्यकाको एउटा नमूना (आइकन) भवन बन्नेछ, उनले भने।  उनले अत्याधुनिक भवन निर्माणसँगै सेवाग्राहीलाई बैंकको सेवा अझ सहज, प्रविधिमैत्री र प्रभावकारी हुने बताए।

ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गदै आइरहेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्