काठमाडौँ। कर्णाली डेभलपमेन्ट बैंकमा भएको घोटालाको प्रभाव अझै पनि सर्वसाधारण निक्षेपकर्ताले भोगिरहेका छन्। घोटाला सार्वजनिक भएको करिब डेढ वर्ष बितिसक्दा पनि आफ्नो बचत फिर्ता नपाएपछि पीडित निक्षेपकर्ताहरु आन्दोलनमा उत्रिएका छन्।
कर्णाली डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यलय नेपालगञ्जमा निक्षेपकर्ताहरुले आन्दोलन सुरु गरेका छन् ।
घोटालापछि बैंकको वित्तीय अवस्था कमजोर बनेपछि नियामक निकाय नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो। तर, लामो समय बित्दा पनि निक्षेप फिर्ता, पुनर्संरचना र दोषीमाथि कारबाहीको प्रक्रिया प्रभावकारी रूपमा अघि नबढेको भन्दै निक्षेपकर्ताहरु आक्रोशित बनेका छन्।
निक्षेपकर्ताहरुका अनुसार बैंकमा अर्बौं रुपैयाँ बराबरको रकम अझै रोकिएको छ। व्यक्तिगत रूपमा ८० लाख रुपैयाँदेखि ७ करोड रुपैयाँसम्म जम्मा गरेका सर्वसाधारणहरु अहिले आफ्नो दैनिक जीवन चलाउनसमेत कठिनाइ भोगिरहेका छन्।
के भन्छन् पीडितहरु ?
आन्दोलनमा सहभागी निक्षेपकर्ताहरुले आफ्नो रगत, पसिनाको कमाइ, वैदेशिक रोजगारीबाट पठाएको रेमिटेन्स तथा वर्षौंको बचत बैंकमा अलपत्र परेको बताएका छन्।
‘हामीले विश्वास गरेर बैंकमा राखेको पैसा निकाल्न नपाउँदा घरखर्च, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्न पनि समस्या भएको छ,’ एक पीडितले बताए।
आन्दोलनरत निक्षेपकर्ताहरुले सरकार र नियामक निकायसँग केही प्रमुख माग राखेका छन्। तत्काल निक्षेपकर्ताको रकम फिर्ता गरियोस्, बैंकको स्पष्ट पुनर्संरचना योजना सार्वजनिक गरियोस्, घोटालामा संलग्न व्यक्तिहरुको पहिचान गरी कडा कारवाही गरियोस् र दोषीको ७ पुस्तासम्मको सम्पत्ति जफत गरेर भए पनि निक्षेपकर्ताको रकम सुरक्षित गरियोस् भन्ने उनीहरूको माग रहेको छ।
यो घटनाले केवल एक बैंकका ग्राहकलाई मात्र नभई समग्र वित्तीय प्रणालीप्रतिको विश्वासमा समेत असर पारेको छ। स्थानीय स्तरमा साना व्यवसाय, कृषक, कर्मचारी तथा वैदेशिक रोजगारीमा रहेका परिवारहरु प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।


