काठमाडौँ। वाणिज्य बैंकहरुले ३८ अर्ब बढी नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको माघसम्ममा ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका छन्।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा ५.४० प्रतिशतले बढेको छ। तथ्यांकअनुसार सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने वृद्धिदरका हिसाबले कुमारी बैंक अग्रस्थानमा रहेको छ।
नबिल बैंकले ५ अर्ब ३८ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो बैंकको नाफा ३४.२१ प्रतिशतले बढेको छ।
दोस्रोमा धेरै नाफा कमाउनेमा ग्लोबल आइएम बैंक रहेको छ। समीक्षा अवधिसम्म बैंकले ४ अर्ब १४ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
त्यस्तै, कुमारी बैंकले समीक्षा अवधिसम्म ३ अर्ब १७ करोड ५१ लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब ५० करोड ५३ लाख रुपैयाँ र प्राइम बैंकले २ अर्ब ३९ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १० वटा बैंकको नाफा बढेको छ भने १० वटाको घटेको छ। समीक्षा अवधिमा सबैभन्दा कम नाफा कमाउनेमा लक्ष्मी सनराइज बैंक रहेको छ।
लक्ष्मी सनराइज बैंकले २४ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

