काठमाडौँ। पछिल्लो समय आवासीय व्यक्तिगत घर कर्जामा आकर्षण बढ्दै गएको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमास (साउन-पुस) सम्ममा बैंकबाट साढे ४ खर्ब रुपैयाँ बढी आवासीय व्यक्तिगत घर कर्जामा ऋण प्रवाह भएको हो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुले आवासीय व्यक्तिगत घर कर्जामा पुससम्म ४ खर्ब ५० अर्ब १ करोड ७१ लाख रुपैयाँ प्रवाह गरेका छन्।
गत आर्थिक वर्ष २०८१-८२ को सोही अवधिसम्ममा भने बैंकहरुले यो शीर्षकमा ४ खर्ब २ अर्ब १७ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। गत वर्षको तुलनामा समीक्षा अवधिसम्म कर्जा प्रवाह ११.९० प्रतिशतले बढेको छ।
यता चालु वर्षको पुससम्ममा बैंकहरुले घरजग्गा कर्जातर्फ २ खर्ब ६१ अर्ब १३ करोड ४७ लाख रुपैयाँ प्रवाह गरेका छन्। गत वर्षको सोही अवधिसम्म बैंकले उक्त शीर्षकमा २ खर्ब ७३ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ कर्जा दिएका थिए। गत वर्षको तुलनामा समीक्षा अवधिमा यो शीर्षकमा कर्जा प्रवाह भने ४.५९ प्रतिशतले घटेको छ।

