विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले बढ्यो

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो छ महिनामा नेपाल भित्रिने विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार उक्त अवधिमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १०६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह भने ४.२ प्रतिशतले मात्र बढेको थियो । २०८२ साल पुस महिनामा मात्रै विप्रेषण आप्रवाह १९२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा देशमा १२२ अर्ब ४४ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा मापन गरिएको विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह २.७ प्रतिशतले मात्र वृद्धि भएको थियो ।

यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११६८ अर्ब २ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८३३ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ६ हजार ८०७ पुगेको छ भने पुन: श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ९४ हजार ७३३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ३० हजार ४३९ र पुन: श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६२ हजार ६२८ रहेको थियो ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै