काठमाडौँ। मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना पुससम्म बैंकको नाफा बढेको छ।
यस अबधीमा बैंकले ६७ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१-८२ को सोही अवधिसम्म बैंकले ५० करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको यो नाफा अघिल्लो वर्षको तुलनामा २२.३२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष वितरणयोग्य मुनाफा ५४ करोड २८ लाख रहेको बैंकको अहिले वितरणयोग्य मुनाफा १९ करोड ५२ लाख रुपैयाँ रहेको छ।
चालु वर्षको पुसम्म बैंकको सञ्चालन मुनाफा ९७ करोड १ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ७१ करोड ८५ लाख रुपैयाँमा थियो। बैंकको सञ्चालन मुनाफा ३५.०२ प्रतिशतले बढी हो। दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब ३७ करोड २८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब १९ करोड ४१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। बैंकको ब्याज आम्दानी ८.१४ प्रतिशतले बढेको छ।
साथै, चुक्तापुँजी ८ अर्ब रुपैयाँ रहेको बैंकको रेटिन्डमा अर्निङ १९ करोड ५२ लाख रुपैयाँ र रिजर्भमा ३ अर्ब ९१ करोड ३१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म रिटेन्ड अर्निङमा १ अर्ब ३५ करोड ४१ लाख रुपैयाँ र रिजर्भमा ३ अर्ब ४० करोड ९० लाख रुपैयाँ थियो।
त्यस्तै, समीक्षा वर्षसम्म बैंकले १ खर्ब १५ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी ९८ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बैंकले १ अर्ब १७ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर ३.७५ प्रतिशतमा पुगेको छ। बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १६.८० रुपैयाँ कायम भएको छ भने पीई रेसियो २०.७७ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५१.३५ रुपैयाँ रहेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ।


